काठमाडौं– रमेश अधिकारी पस्मिना र गलैंचा व्यापारमा चर्चित नाम हो । उनको गलैंचा र फ्याक्ट्रिमार्फत उत्पादन भएका सामान नेपालमा भन्दा पनि धेरै विदेशमा चर्चित छन् ।
विदेशमा पस्मिनाका समानहरु निकै माग रहेको उनी बताउँछन् । उनको नख्खिपोटमा रिता इण्ड्रस्टिज उद्योग छ । उनै अधिकारीसँग नेपाल विशेषका संवादाताले उनको व्यापार व्यवसाय तथा व्यक्तिगत जीवनसँग नजिक रहेर छोटो कुराकानी गरेका छन् :
कसरी बित्दैछन् दिनहरु ?
कोरोना महामारीपछि दिनहरु अलि लयमा फर्किएको छ । हुनत महामारीका बेलामा पनि हाम्रो उद्योग निरन्तर चलिरहेको थियो । तर, नागरिकहरुमा आर्थिक मन्दीले छुट्टै वितृष्णा सिर्जना गरेको थियो । विहान उठ्ने, दिनभर फ्याक्ट्रिको कामबाहेक खासै नयाँ केहि छैन ।
यो व्यावसायमा तपाईलें छोटै समयमा फड्को मार्नुभयो, विगतलाई कसरी सम्झनु हुन्छट? कसरी यस क्षेत्रमा हाम फाल्नुभयो ?
म ललितपुर महानगरपालिका–१४, नख्खिपोटको मान्छे । घरको कान्छो छोरो । हाम्रो परिवारको पहिल्यैदेखि गलैंचा व्यापार थियो। म २०६०–२०६१ तिर होटल म्यानेजमेन्ट अध्ययनका लागि जर्मनी गएँ । व्यापार बुबाले हाँकिरहनुभएको थियो। मेरो दाइहरु एकजना अमेरिका, अर्का दाइ अस्ट्रेलियामा हुनुहुन्थ्यो, अहिले पनि उतै हुनुहुन्छ । दाईहरु युरोप–अमेरिका भएपछि म पनि विदेश सेटल हुने र कहिलेकाँहि नेपाल आउने खालको सोंच थियो । तर, भनेजस्तो भएन । म सेटल हुन भर्खरै छिरेको थिएँ । तर, एकाएक घरमा असाध्यै नराम्रो घटना घट्यो, आमा अकस्मात बित्नुभयो । घर फर्केपछि पुनः विदेश पलायन हुने मन मर्यो । विस्तारै उद्योग हाँक्ने जिम्मेवारी मेरै काँधमा आइपुग्यो । उमेरेले २३–२४ बर्षको मात्र थिएँ । मैले उद्योगमा बुबासँग काम थालेको त्यहीँ उमेरदेखि नै हो ।
उद्योगको जिम्मेबारी सम्हाल्ने क्रममा सुरुमा कस्तो लाग्थ्यो ?
भर्खर युवावस्थामा व्यवसायमा होमिएकाले धेरै कन्फ्युज थिएँ । तर, कतिपय कुराको आइडिया फुर्दै जाने रहेछ । सुरुमा त सक्दिनँ कि, नगरौं कि ? बुबालाई नै हेर्नुस् भनौं जस्तो भयो । पछि बुबाको आड पाएँ, अनि अघि बढेँ ।
सुरुमै पस्मिनाको व्यापार थाल्नुभएको हो ?
होइन, हाम्रो उद्योगबाटसुरुमा गलैंचा मात्रै उत्पादन हुन्थ्यो । पछि मात्रै पस्मिनाको व्यापारमा लागेका हौं । पस्मिना व्यापारमा सुरुमा संभावना देखेपनि कसरी मार्केट खोज्ने आइडिया कम थियो । पछि विस्तारै यसको माग विदेशमा रहेको थाहा पाएँ । त्यसपछि हाम्रो अधिकांश उत्पादन अहिले विदेशमै जाने हो ।
पस्मिना उद्योगका लागि लगानी चाँहि ?
पस्मिना उद्योग स्थापना गर्न करिब एक डेढ करोड रुपैयाँ त्यसबेलानै लागेको थियो । अहिले त यसको लागत कति पुग्यो हिसाव गर्नुपर्छ । अहिले २ फरक स्थानमा पस्मिना र गलैंचाको उद्योग संचालनमा छ । २ ठाउँमा गरेर कम्तिमा डेढसयजतिले रोजगारी पनि पाउनुभएको छ ।
पस्मिनाको शोरुम पनि खोल्नुभएको छ अथवा माग अनुसार उत्पादन गर्ने र सप्लाई गर्ने मात्रै गर्नुहुन्छ ?
हाम्रो उद्योग सुरुदेखिनै ललितपुरमा थियो । तर, विदेशी पर्यटकहरु पस्मिना खोज्न ठमेलतिर जान थालेपछि हामीले ठमेल र झम्सिखेलमा शोरुम खोल्यौं । तर, दुई वर्षजति झम्सिखेलमा चलेपछि वन्द भयो, भूकम्पका कारण । ठमेलको शोरुम भने कोरानापछि बन्द हुन पुग्यो ।
पस्मिना उद्योगमा के–के समस्या भोग्दै आउनु भएको छ ?
सुरु–सुरुमा जनशक्तिको खासै समस्या थिएन । तर, पछि काम गर्ने मान्छे पाउन मुस्किल हुन थालेको छ । भनेको बेला सामान र जनशक्ति र सामग्री सहज रुपमा नपाइनु मुख्य चुनौती पस्मिना उद्योगमा छ । हामीले सल, स्वेटर, मफ्लर, टोपी, ट्राउजर र गलैँचा उत्पादन गर्छौ । मान्छे पाएको खण्डमा र सरकारको सहयोग राम्रो मिल्यो भने असाध्यै सहज हुने देखिन्छ । पस्मिना सामग्री बनाउने धागो नै असाध्यै महँगो पर्छ । तर, बजारमा यस्ता धागो पनि नक्कली आउने गरेको पाइन्छ, यसले हामी जस्ता क्वालिटीका काम गर्ने र नेपालबाट उत्पादन हुने पस्मिनाको जुन विदेशमा इज्जत छ त्यो घट्दै जान सक्ने भएकाले सरकारको ध्यान जान जरुरी छ । एक किलो धागोकै करिब २५ हजार नेपाली रुपैयाँजति पर्न आउँछ, तर पस्मिनाबाट उत्पादित समान २–३ हजारमा विक्री भएका पाउँदा नक्कली धागोको विगविगी हो कि भन्ने मैले अनुभव गरेको छु ।
विदेशमा कसरी विक्री हुन्छ ?
गलैंचा त सामान्यतया ५–७ हजारदेखि १५ लाखसम्म पर्छ । पस्मिनाका समानमा भने ३ सयदेखि ५ सय डलरसम्ममा बिक्री हुन्छन् । केही समयअघि हामीले उत्पादन गरेको स्वेटर युरोपमा ४ सय युरोसम्ममा बिक्री भएको थियो । त्यसबेलाको मूल्य हेर्दा करिब नेपाली ४० हजारसम्म मूल्यांकन हुन्छ ।
अबको योजना ?
करिब डेढ दशकदेखि उद्योग सञ्चालन गरिरहे पनि अहिलेसम्म आफ्नै ब्राण्ड भने छैन । उत्पादन गरेका सामानमा ‘ह्याण्ड मेड इन नेपाल’ लेखेर कम्पनीको ब्राण्ड भने विदेशीले आफ्नै राख्ने गरेका छन् । यसो हुनुमा विदेशमा नेपाली बजारको पहुँच नपुगेर हो । अब आफ्नो कम्पनीको लोगो राखेर पस्मिना बेच्ने योजना छ । अबको लक्ष्य भनेकै पस्मिनालाई नेपाली ब्राण्ड बनाउनु हो ।