काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशंका गरेका छन् ।
कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने उनले बताएका हुन् । उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए । ‘ जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’ ओलीले भने ।
उनले अगाडि भने, ‘केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’
कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको एमाले अध्यक्ष ओलीले बताए । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।