सुर्खेत - सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार बिहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार दुर्घटनामा परेर चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र विसीको मृत्यु भएको हो।
दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २६ वर्षीय वीरेन्द्र शाही गम्भीर घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ।