काठमाडौँ – राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने उनको भनाइ छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताए। उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए।
उनले राष्ट्रपति पद पहिला फालेकोजस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको बताए। उनले राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट गरे। उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए? होला नि त अर्थ? भोट हाल्ने जनताका प्रतिनिधिले? तर त्यसको चुनाव चाहीँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि। ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो। यसलाई विचार गरेर राष्ट्रपतिको चुनावलाई हामीले निर्वाचनजस्तो हेर्नुपर्छ। ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ। यसलाई अघि बढाउनु पर्छ।’
उनले थपे, ‘राष्ट्रपति एकताको प्रतिक हो। संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो। यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन। राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा बहस गर्नु परेन तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो। दलीय प्रभाव परेको, गर्नु नहुने काम गर्नुभयो। राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पदजस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ।’