नेपालको बिजुलीलाई सहजरुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२५ दिन अगाडि
नेपालको बिजुलीलाई सहजरुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु

काठमाडौँ - नेपालको बिजुलीलाई सहजरुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई पक्षबीच नेपालको बिजुलीलाई सहजरुपमा भारतीय बजारको पहुँच दिने सम्झौताको तयारी भइरहेको हो ।

प्रधानमन्त्री दाहाल वैशाख दोस्रो साता भारत भ्रमणमा निस्कने तयारीमा छन् । उक्त भ्रमणका क्रममा नेपाल र भारतले बिजुली व्यापारलाई प्राथमिकतामा राखेका छन् । दुई देशले बिजुली व्यापारमा नयाँ आयाम थप्ने गरी सम्झौताको तयारी भइरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न भारतका नियामक निकायसँग दुईपटक अनुमति लिनुपर्छ ।

प्राधिकरणले कति क्षमताको बिजुली भारततर्फ पठाउने भन्ने अनुमति लिनुपर्छ । त्यसपछि कुन–कुन आयोजनाबाट भारतमा उक्त क्षमतामा बिजुली बेच्ने भनेर छुट्टा–छुट्टै अनुमति लिने गरिन्छ । यी दुई प्रकारका अनुमति आएपछि बल्ल प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न पाउँछ । तर, प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाली बिजुली सिधै भारतमा बेच्न पाउने व्यवस्थासहितको सम्झौता गर्ने तयारी छ ।

अहिले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा हुने सम्झौताको ड्राफ्ट तयार पार्दैछ । उक्त ड्राफ्टमा नेपाली बिजुलीले सिधै भारतीय बजारमा पहुँच पाउने व्यवस्था समेत समेटिएको छ ।स्रोतले हाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न झन्झटिलो रहेको बताएकाे छ ।