सर्लाहीमा लाभग्राहीले दुई वर्षदेखि पाएनन् वैदेशिक रोजगार छात्रवृत्ति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
सर्लाहीमा लाभग्राहीले दुई वर्षदेखि पाएनन् वैदेशिक रोजगार छात्रवृत्ति

 काठमाडाै‌ -वैदेशिक रोजगारी छात्रवृत्तिअन्तर्गत पाउनुपर्ने रकम नपाएको सर्लाहीका लाभग्राही परिवारले गुनासो गरेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डबाट बर्सेनि पाउँदै आएको छात्रवृत्ति दुई वर्षदेखि नपाएको लाभग्राही निशान्त धिमालले गुनासो गरे। धिमालका बुबाको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको थियो। हाल उनी हजुरबुबाको रेखदेखमा छन्। घरमा कमाउने कोही नहुँदा स्थानीय विद्यालयमा सात कक्षामा पढ्ने उनले कापीकलम किन्नसमेत समस्या भएको बताए। यसअघि धिमालले पाउने छात्रवृत्ति रकमबाटै पढाइ–लेखाइ खर्च टर्दै आएको थियो। बेसहारा परिवारको सहारा बनेको छात्रवृत्तिमा समेत राज्यले पीडित परिवारलाई झुक्याएको निशान्तका हजुरबुबा पुण्यप्रसाद धिमालले बताए।  यसअघि शिक्षा विकास तथा समन्वय इकाइबाट पाउँदै आएको छात्रवृत्ति गएको दुई वर्षदेखि नपाएको उनीहरूको गुनासो छ।

सर्लाहीमा एक सय ४९ जना लाभग्राही छात्रछात्रा छन्। बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत निम्नमाध्यमिक तहका छात्रछात्रालाई आठ हजार र माध्यमिक तहका छात्रछात्रालाई १२ हजार वार्षिक छात्रवृत्ति दिँदै आएको थियो।छात्रवृत्तिका लागि आफूले गत वर्ष र यस वर्ष गरी दर्जनौँपटक शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय धाएको पीडितले बताए। जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख अशाेककुमार रौनियारले उक्त छात्रवृत्ति रकम आउन बाँकी रहेको बताए।  उनले कार्यालयको खातामा पैसा आउनेबित्तिकै लाभग्राहीको खातामा पठाइने बताए। ‘मैले  यही हप्तामा मात्र बुझेको थिएँ,’ उनले भने, ‘जेठ २२ गतेसम्मको समय अर्थ मन्त्रालयले दिएको छ । पैसा आयो भने हामी तत्काल खातामा राखिदिन्छौँ। पैसा रोकिएको दुई वर्षकै आउँछ कि एक वर्षको मात्रै। यसमा म पनि अनभिज्ञ छु।’
 
यता वैदेशिक रोजगार बोर्डले शैक्षिक सत्र ०७८/७९ को छात्रवृत्तिबापतको रकम पठाइसकिएको जनाएको छ। बोर्डका सूचना अधिकारी राजन पौडेलले शैक्षिक सत्र ०७९/८० को रकम पठाउन बाँकी रहेको टेलिफोनबाट जानकारी दिए। उनले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले लाभग्राहीलाई रकम वितरण गरे–नगरेको बुझ्ने बताए। बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका सन्तानमध्ये एक छात्रा वा छात्रलाई उक्त छात्रवृत्ति रकम दिने गरेको छ।