काठमाडाै - स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा ६ महिना भित्रमा आमूल परिवर्तन ल्याउन मन्त्रालयले काम गरिरहेको बताएका छन्।
मन्त्री बस्नेतले बिहीबार धनुषामा प्रदेश सरकारलाई प्राकृतिक विपद्को समयमा काम गर्न विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा बनाइएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को हस्तान्तरण गरे। उनले स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा ३ हजार २५ शैय्या गरिव तथा विपन्न वर्गका लागि निःशुल्क उपलब्ध गराएको बताए। मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शैय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठूलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा राख्दै सरकारले निःशुल्क शैय्या छुट्याउन कठोर कदम उठाउने बताए। उहाँले संविधानले प्रत्येक नागरिक को निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताए। मन्त्री बस्नेतले मधेश प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नी हस्तान्तरणका लागि प्रक्रिया अगाडि बढाइसकेको र जनकपुरधाममा गङ्गालाल हृदयरोग केन्द्रको शाखा बलियो बनाइएको बताए ।