अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, करिडोर अझै ठप्प

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३९ दिन अगाडि
अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, करिडोर अझै ठप्प

 काठमाडाै‌ -दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

निरन्तर वर्षाको कारण सडकमाथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका– १ पाखुतेमा अवरुद्ध भएको थियो। मंगलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।  सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ। अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए। आज दिउँसोसम्ममा पूर्ण रूपमा सञ्चालनमा आउने उनको भनाइ छ। सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए। काठमाडौं, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारीसाधन पनि सडकमा रोकिएका थिए।  यता पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन। मंगलबार करिडोरको बागलुङ नगरपालिका– १० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रूपमा ठप्प भएको थियो। अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए।