काठमाडाै-सशस्त्र प्रहरी बलले आफूअनुकूलको कार्यालयमा लामो समय काजमा बस्ने प्रवृत्तिलाई रोक्ने भएको छ ।
काजसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गरी ६ महिनाभन्दा लामो समय काजमा बसेमा त्यस्ता प्रहरी कारबाहीमा पर्नेछन् । सशस्त्र प्रहरीले ६ महिनाभन्दा लामो समय काजमा बस्ने कर्मचारीलाई वृत्तिविकासअन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्षिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवाबापतको मूल्यांकन अंक दिइने नीति बनाएको छ । काजमा बस्ने कर्मचारीले कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवासुविधा, अनपोल तथा एफपियू मिसन, विदेश तालिम तथा अन्य निकायबाट सञ्चालन हुने तालिम, कमान्डलगायत सुविधाबाट वञ्चित हुनुपर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । हाल काजमा कार्यरत कर्मचारीलाई नयाँ मापदण्डअनुसार २२ असोजदेखि लागू हुने गरी ६ महिना अवधि दिइने त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुन सशस्त्र प्रहरी बलले परिपत्र गरेको छ ।अस्थायी कार्यालयमा संगठनले आवश्यक ठानी काज खटाइएका तथा स्वास्थ्य, सञ्चार तथा इन्जिनियरिङ, लेखा, कानुन एवं प्राविधिक समूहतर्फका कर्मचारीलाई आवश्यकताअनुसार काजमा कामकाज गर्न सक्नेछन् । एकपटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तीमा दुई वर्षसम्म काजको अर्को सुविधा नपाउने मापदण्डमा उल्लेख छ ।