‘परदेशी २’लाई दर्शकको साथ, शनिवार धेरै हल भरिभराउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६३ दिन अगाडि
‘परदेशी २’लाई दर्शकको साथ, शनिवार धेरै हल भरिभराउ

 काठमाडाै‌ -नेपाली कथानक चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ ।

 दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो ।  हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । 

अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरूले चलचित्रले घरी हँसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् । चलचित्र हेर्न पुगेकामध्ये कोही एक्लै समेत देखिएका थिए भने कोही साथीभाइ र परिवारसहित हल पुगेर चलचित्र हेरेका छन् । शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी रहेको निर्माण पक्षले जनाएको छ । दर्शकबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको छ ।

निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीम उत्साहित रहेको बताउँछन् । ‘शनिवार बुटवल, पोखरा, नेपालगन्ज, चितवनसहित काठमाडौंका धेरै हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतवार पनि सार्वजनिक विदा भएका कारण चलचित्रलाई फाइदा हुने देखिन्छ ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरू उत्साहित र खुशी देखिएका छन् । चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैँको अवसर पारेर घटस्थापनाको दुई दिन अघिदेखि प्रदर्शनमा आएको हो । लोकान्तर संवाददाता