विज्ञान–प्रविधि पत्रकारिता र उद्देश्य
विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका विभिन्न खोज, अनुसन्धान र नवीन तथ्यमा आधारित रहेर गरिने पत्रकारितालाई विज्ञान–प्रविधि पत्रकारिता भनिन्छ । विज्ञान पत्रकारिताको माध्यमबाट सजिलो भाषामा सबैले बुझ्ने गरी विज्ञानलाई जनतासामु पुर्याउने काम गरिन्छ । विज्ञानसँग सम्बन्धित विषयमा समाचार, फिचर र गहन लेख लेख्ने व्यक्ति विज्ञान पत्रकार हो । वास्तवमा, विज्ञान पत्रकारिताले वैज्ञानिक, पत्रकार र जनताबीच अन्तक्र्रियाको काम गराउँदछ ।
‘त्यस बेलामा मात्र वैज्ञानिक विषयवस्तु समाजका लागि मूल्यवान हुन्छ, जब त्यसलाई सही तरिकाले मिडियाबाट आमजनतासम्म पु¥याइन्छ,‘ अमेरिकी लेखक एनी रोले भनेकी छन् । उनको यो भनाइबाट पनि विज्ञान पत्रकारिताको सान्दर्भिकता र महत्व कति छ भन्ने स्पष्ट हुन्छ । त्यसैले विज्ञान पत्रकारितालाई विज्ञान र समाजबीच सार्थक संवाद गराउने सशक्त माध्यमका रुपमा समेत लिने गरिन्छ ।
वैज्ञानिकहरुले कुनै विषयमा अनुसन्धान गरेपछि त्यसको परिणामलाई ख्यातिप्राप्त जर्नलहरुमा लेखका रुपमा प्रकाशन गर्छन् । वैज्ञानिकहरुले लेखेको जर्नल आर्टिकल धेरै विस्तृत, विशिष्ट र जटिल शब्दजालले भरिने हुनाले गैरवैज्ञानिक तथा सामान्य मानिसहरुलाई बुझ्न ज्यादै गाह्रो हुन्छ । विज्ञान पत्रकारिताको उद्देश्य क्लिष्ट र दुर्बोध्य वैज्ञानिक खोज र अनुसन्धानलाई सामान्य मानिसले बुझ्न सक्ने गरी सञ्चार गर्नु हो ।
विज्ञान पत्रकारहरुले वैज्ञानिक अनुसन्धान र यससँग सम्बन्धित समाचार तथा फिचरहरु सर्वसाधारण बुझ्न सक्ने सजिलो भाषामा लेख्ने गर्दछन् । उनीहरुले कुनै विषयका समाचारहरुलाई विज्ञानको कोणबाट प्रस्तुत गर्ने गर्दछन् जबकि अन्य बिटका पत्रकारहरुले घटनाप्रधान समाचार लेख्नुका साथै त्यसमै आधारित भएर विश्लेषण गर्ने गर्छन् । विज्ञान र प्रविधिको बारेमा जनताले सूचना पाउने माध्यम मास मिडिया नै हो । विज्ञान पत्रकारहरुले अखबार,म्यागेजिन, टेलिभिजन, अनलाइन मिडिया, रेडियो आदि सञ्चार माध्यममार्फत् आफ्ना समाचार तथा लेखहरु सम्प्रेषण गर्ने गर्छन् ।
विज्ञान पत्रकार, विज्ञान सञ्चार (साइन्स कम्युनिकेटर) र विज्ञान लेखकको भूमिका फरक हुने भएकाले त्यसबारे स्पष्ट हुनु जरुरी छ ।
विज्ञान पत्रकारले विभिन्न आमसञ्चार माध्यममा विज्ञानसम्बन्धी रिपोर्टिङ गरी समाचार तयार पार्ने काम गर्छ भने विज्ञान सञ्चारकले चाहिँ विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय निकायहरु, विभिन्न संस्थाहरुमा गरिएका जटिल वैज्ञानिक तथ्यहरुलाई सरल भाषा लेखी प्रेस विज्ञप्तिमार्फत् बाहिर ल्याउने काम गर्छन् । विज्ञान लेखकहरुले विभिन्न माध्यमहरु जस्तो किताब, म्यागेजिन, ब्लग, वेबसाइट आदिका लागि विज्ञान सम्बन्धी लेखहरु तयार पार्छन् । विज्ञान लेखकहरुले विज्ञान पत्रकारहरुजस्तो निश्चित मिडियाका लागि भनेर फिल्डमा गएर नियमित रिपोर्टिङ भने गर्नु पर्दैन ।
विज्ञान पत्रकारितामा परम्परागत पत्रकारिताभन्दा फरक ढंगले रिपोर्टिङ गरिन्छ । सामान्यतः परम्परागत पत्रकारितामा रिपोर्टिङलाई सन्तुलित बनाउन सकेसम्म सबै पक्षका विचारहरु समेट्ने गरिन्छ । तर, विज्ञान पत्रकारितामा भने वैज्ञानिक रुपमा प्रामाणिक तथ्यका आधारमा रिपोर्टिङ गरिन्छ । विरोधाभाषी पक्षहरुहरुले पेस गरेको दस्तावेजमा भएको कमीकमजोरीलाई औंल्याइन्छ ।
विज्ञान–प्रविधि पत्रकारको भूमिका
विज्ञान–प्रविधि पत्रकारितामा भौतिकशास्त्र, गणित, प्रविधि तथा नवप्रवर्तन, जीवविज्ञान र जैविक प्रविधि, रसायनशास्त्र, ऊर्जा र नवीकरणीय प्रविधि, स्वास्थ्य, वातावरण तथा जलवायु परिवर्तन, कृषि, न्युरोसाइन्स, इन्जिनियरिङ, विज्ञान नीति तथा विज्ञान कूटनीतिलगायत विभिन्न विषयगत विधाहरु हुन्छन् । विज्ञान पत्रकारहरुले आफूलाई रुचि लागेको वैज्ञानिक विषयमा विशिष्टीकृत रिपोर्टिङ गरेर त्यसमै दक्षता हासिल गर्न सक्छन् ।
विज्ञान–प्रविधि पत्रकारहरुको भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
–प्रविधि तथा नवप्रवर्तन, वैज्ञानिक खोज, सफलता, वैज्ञानिक समुदायभित्रको विरोधाभाष आदिबारे रिपोर्टिङ गर्ने ।
–वैज्ञानिक, अनुसन्धाता र अन्य विज्ञानका विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तर्वार्ता लिने ।
–वास्तविकता र विश्वसनीयता सुनिश्चित गर्न सूचनाहरुको तथ्य जाँच गर्ने ।
–सामान्य जनताका लागि जटिल वैज्ञानिक अवधारणालाई लेखहरुमार्फत् सरल भाषामा प्रस्तुत गर्ने ।
–विज्ञानसँग सम्बन्धित नीति तथा नियामक मुद्दाहरु उठान गर्ने ।
–पछिल्ला वैज्ञानिक अनुसन्धान तथा विकासबारे आफूलाई चुस्त र दुरुस्त राख्ने ।
–समाजलाई विज्ञानसँग जोड्नका लागि सेतुको भूमिका निर्वाह गर्ने ।
–जनमत र सरकारी नीतिलाई छद्म विज्ञानको प्रभावबाट रोक्न भूमिका खेल्नु ।
मूलधारका मिडियामा विज्ञान समाचार न्युन
मूलधारको पत्रकारिता अभ्यास गर्दै आएका नेपालका अखबार, रेडियो, टेलिभिजन र अनलाइनमा अझै विज्ञान समाचार न्युन छन् । ती मिडियाले छुट्टै विज्ञान संवाददाता नियुक्त गरेको देखिँदैन । अन्य विधामा रिपोर्टिङ गर्दै आएका पत्रकारहरुले विज्ञानप्रति आफ्नो विषयगत रुचिका कारण यदाकदा रिपोर्टिङ गर्ने गरेको पाइन्छ ।
बीबीसी नेपाली सेवाले भने विज्ञान संवाददाता नियुक्ति प्रक्रिया सुरु गरे पनि यसलाई पछिसम्म निरन्तरता दिन सकेको पाइँदैन । बीबीसी नेपाली सेवाका तत्कालीन प्रमुख रवीन्द्र मिश्रको पालामा सन् २०१३ मा नेपालमै पहिलोपटक विज्ञान संवाददाता नियुक्त गरिएको थियो । बिबिसीमा पहिलोपटक विज्ञान संवाददाता बन्ने अवसर पाएका रमेश भुसालले करिब दुई वर्षजति त्यहाँ काम गरेका थिए । त्यसपछि लक्ष्मण डंगोलले सन् २०१५ देखि दुई वर्ष बिबिसी नेपाली सेवामा विज्ञान संवाददाताका रुपमा आफ्नो भूमिका निर्वाह गरेका थिए । डंगोलपछि बिबिसी नेपाली सेवाले कसैलाई पनि विज्ञान संवाददाता नियुक्त गरेको छैन ।
विज्ञान–प्रविधि पत्रकारका योग्यता र सीप
विश्वमा विज्ञान–प्रविधि पत्रकारिताको प्रारम्भिक कालखण्डमा विभिन्न वैज्ञानिकहरु पत्रकारितामा लागेको पाइन्छ । बेलायतका चर्चित जीववैज्ञानिक थोमस हेनरी हक्सले (सन् १८२५–१८९३), आइरिस भौतिकशास्त्री जोन टिन्डल (सन् १८२०–१८९३) लगायत विभिन्न वैज्ञानिकहरु पत्रकारितामा क्रियाशील रहेका थिए ।
हामीकहाँ विज्ञान–प्रविधि पत्रकारिताको सन्दर्भ चल्दा एउटा प्रश्न बारम्बार उठिरहन्छ– के विज्ञान पत्रकार बन्न औपचारिक रुपमा विज्ञान नै पढेको हुनुपर्छ ?
यसबारे विज्ञान–प्रविधि पत्रकारिताको प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको संयुक्त राज्य अमेरिकास्थित संस्था ‘द ओपन नोटबुक’की सहसंस्थापक तथा प्रधान सम्पादक एवं विज्ञान पत्रकार सिरी कार्पेन्टरले २०२३ जनवरी २७ मा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) ले आयोजना गरेको मेन्टरसिप कार्यक्रममा भनेकी थिइन्–‘विज्ञान पत्रकारितामा आउनका लागि नेचुरल साइन्स जस्तोः फिजिक्स, केमेस्ट्री, बायोलोजी, जियोलोजी, एस्ट्रोलोजी आदि पढेको हुनुपर्छ नै भन्ने अनिवार्य छैन । जुन विषय पढेको हो, पत्रकारितामा त्यही बिटमा रिपोर्टिङ ग¥यो भने पक्कै सजिलो चाहिँ हुन्छ ।
तर, पत्रकारिताको आधारभूत सीप, लगनशीलता र दृढ इच्छा भएमा विज्ञानबाहेक अन्य विषयमा डिग्री लिएका पत्रकारहरुले पनि अब्बल रिपोर्ट तयार पारेका छन् ।’ न्युयोर्क टाइम्स, डिस्कभर, साइन्स न्युज, साइन्टिफिक अमेरिकन लगायत विभिन्न मिडियामा विज्ञान पत्रकारिता गरिसकेकी उनले मनोविज्ञानमा पिएचडी गरेकी छन् । तसर्थ, विज्ञान–प्रविधि पत्रकारिताका लागि पत्रकारले विज्ञान पढेको भएमा सुनमा सुगन्ध हुने, तर, अन्य विषय पढेको भए पनि सीप र दक्षता विकास गरेर यस क्षेत्रमा काम गर्न सकिन्छ ।
सन् २०१४ मा छत्र कार्कीको अध्यक्षतामा स्थापित नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) ले स्थापनाकालदेखि नै विज्ञान पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सन् २०१७ मा विश्वभरका विज्ञान पत्रकारहरुको छाता संगठन वल्र्ड फेडेरेसन अफ साइन्स जर्नालिस्ट्स (डब्लुएफएसजे), क्यानाडाको सदस्यता लिएको एनएफएसजेले अमेरिकास्थित द ओपन नोटबुकसँगको सहकार्यमा सन् २०२३ जनवरीदेखि जुनसम्म विज्ञान पत्रकारहरुको दक्षता विकासका लागि ६ महिने साइन्स जर्नालिज्म मेन्टरसिप प्रोग्राम सम्पन्न गरिसकेको छ । भविष्यमा मेन्टरसिप प्रोग्रामलाई निरन्तरता दिइने एनएफएसजेका अध्यक्ष राजन पोखरेल बताउँछन् ।
आधारभूत सीप र ज्ञानबिना विज्ञान–प्रविधि पत्रकार भएर काम गर्न गाह्रो हुन्छ । नेचर इन्डियाकी सम्पादक तथा विज्ञान पत्रकार शुभ्र प्रियादर्शिनी कुशल विज्ञान पत्रकार बन्नका लागि निम्न सीपहरु जरुरी ठान्छिन् :
–कुनै विषयवस्तुबारे खोज र अनुसन्धान गर्नसक्ने क्षमता ।
–आमजनता र वैज्ञानिक दुवैसँग सञ्चार गर्नसक्ने खुबी ।
–पूर्ववैज्ञानिक अध्ययनहरुको समीक्षा ।
–विश्लेषणात्मक सीप ।
–विज्ञान र प्रविधिमा रुचि ।
–उद्देश्यमूलक र तटस्थ रहन सक्ने ।
–पत्रकारिताका आधारभूत मान्यता र विज्ञान लेखनबारे बुझाइ ।
विज्ञान–प्रविधि पत्रकारिताका लागि स्थलगत रिपोर्टिङ महत्वपूर्ण पक्ष हो । वैज्ञानिकहरुले प्रयोगशालामा गरेको काम र त्यसबाट आउने नतिजाबारे प्रत्यक्ष अवलोकन जरुरी हुन्छ । त्यस्तै गरी, कतिपय वातावरण र जलवायु परिवर्तनसम्बन्धी रिपोर्टिङ गर्नका लागि पत्रकार समुदायस्तरमै पुग्नुपर्ने हुन्छ । एउटा विज्ञान पत्रकारमा फिल्डमा पुगेर मात्र मल्टिमिडिया स्टोरी (कन्टेन्ट, भिडियो, अडियो ) तयार पार्न सक्छ ।
विज्ञान–प्रविधि पत्रकारिताका लागि सूचनाको स्रोत
पत्रकारितामा जनसम्पर्क र सूचनाको स्रोतको ठूलो भूमिका हुन्छ । विज्ञान–प्रविधि पत्रकारले विषयगत रुपमा सूचनाको स्रोत को–को हुन सक्छन् भनी निक्र्योल गर्न सक्नुपर्छ । स्थानीय तहको कुरा गर्दा विद्यालय वा कलेजमा अध्यापन गराउने विज्ञान–प्रविधिसँग सम्बन्धित विषयका शिक्षक र प्राध्यापक, नगरपालिका र गाउँपालिकाका पदाधिकारीहरुबाट विज्ञान–प्रविधि सम्बन्धी सूचना लिन सकिन्छ । प्रदेशमा रहेर विभिन्न शैक्षिक संस्था तथा विभिन्न सरकारी निकायमा रहेर अनुसन्धान गरिरहेका वैज्ञानिकहरु, प्रादेशिक वैज्ञानिक अनुसन्धान केन्द्रका अधिकारीहरु, विज्ञान, वातावरण र वनमा काम गरिरहेका गैरसरकारी संस्थाहरुसँग नियमित सम्पर्कमा रहनु पर्दछ ।
केन्द्रको कुरा गर्दा अहिले विज्ञान–प्रविधि सम्बन्धी तालुकदार निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हो । उक्त मन्त्रालयमा शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय हेर्नका लागि सरकारले छुट्टाछुट्टै सचिवहरुलाई जिम्मेवारी दिएको छ । त्यस्तै, विज्ञान तथा प्रविधिसम्बन्धी छुट्टै निकायको रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेको छ । रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट), नेपाल एग्रीकल्चर रिसर्च सेन्टर (नार्क), नेसनल इनोभेसन सेन्टरलगायत विभिन्न संस्थाहरु सूचनाको भरपर्दो स्रोत हुन सक्छन् ।
विज्ञान–प्रविधिसम्बन्धी समाचार तयार पार्दा निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ :
–विज्ञान जर्नल र वेबसाइट सब्सक्राइभ गर्ने ।
प्रश्न सोधिरहने ।
सबै कुरामा वैज्ञानिक विश्लेषण खोज्ने ।
सार्वजनिक नीतिको वैज्ञानिक आयामबारे जवाफ खोज्ने ।
वैज्ञानिक समाज तथा संस्थाहरुसँग सहकार्य गर्ने ।
विभिन्न क्षेत्रका विज्ञहरुको सम्पर्क नम्बरसहित सूची तयार पार्ने ।
विभिन्न सम्मेलन, सेमिनार र अन्य वैज्ञानिक कार्यक्रममा सहभागिता जनाउने ।
यसका साथै, विज्ञान–प्रविधिमा केन्द्रित अन्तर्राष्ट्रिय मिडिया तथा जर्नलहरुको अध्ययनले पत्रकारमा निख्खरता ल्याउन सक्छ । त्यही भएर अध्ययनका लागि विज्ञान तथा प्रविधि सम्बन्धी केही अन्तर्राष्ट्रिय मिडियाहरुको सूची प्रस्तुत गरिएको छ :
–नेचर
–न्यु साइन्टिस्ट
–नेसनल जिओग्राफिक
–साइन्टिफिक अमेरिकन
–बीबीसी न्युज साइन्स एन्ड इन्भारोमेन्ट
–द थर्ड पोल
–साइडेभ डट नेट
–रेस्ट अफ वल्र्ड
–मङ्गाबे
–साइन्स न्युज
अन्तर्राष्ट्रिय फोरममा नेपाली विज्ञान पत्रकारलाई अवसर
नास्टको विज्ञान फिचर सम्पादकका रुपमा विज्ञानलाई लोकप्रिय बनाउन भूमिका निर्वाह गरेका पत्रकार प्रकाश खनालले विभिन्न अन्तर्राष्ट्रिय मिडियामा वैज्ञानिक लेखहरु प्रकाशित गरेको देखिन्छ । दुई दशकअघि खनाल ‘वल्र्ड फेडेरेसन अफ साइन्स जर्नालिस्ट्स’ (डब्लुएफएसजे) को सचिवका रुपमा समेत रहिसकेका छन् । खनाल लामो समयदेखि बेलायतमा पत्रकार र पिआर कन्सल्टेन्ट रहेर काम गर्दै आएका छन् ।
त्यसयता विभिन्न समयमा विज्ञान पत्रकारले अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो उपस्थिति जनाएर अनुभव आदान–प्रदान तथा सिकाइ हासिल गर्दै आएका छन् । सन् २०१५ जुन ८ देखि १२ सम्म दक्षिण कोरियाको सोलमा भएको नवौं वल्र्ड कन्फेरेन्स अफ साइन्स जर्नालिस्ट्समा छत्र कार्कीले वक्ताका रुपमा नेपालको भूकम्पबारे आफ्नो रिपोर्टिङ अनुभव सुनाएका थिए भने उनले सन् २०२३ मार्च २७ देखि ३१ सम्म दक्षिण अमेरिकाको कोलम्बियामा भएको बाह्रौ वल्र्ड कन्फेरेन्स अफ साइन्स जर्नालिस्ट्समा मेन्टल हेल्थ र डिजिटल टेक्नोलोजीबारे वक्ताको रुपमा प्रस्तुति दिएका थिए । त्यसैगरी, सन् २०१७ मा अमेरिकाको सानफ्रान्सिस्कोमा भएको वल्र्ड कन्फेरेन्स अफ साइन्स जर्नालिस्टमा थर्डपोलका नेपाल सम्पादक तथा वातावरण पत्रकार रमेश भुसालले वक्ताका रुपमा विज्ञान तथा वातावरण पत्रकारिताबारे आफ्नो अनुभव सुनाएका थिए । पिताम्बर सिग्देल, राजन पोखरेल, मनिष गौतमलगायत पत्रकारले विभिन्न समयमा यस्ता कन्फेरेन्समा सहभागिता जनाइसकेका छन् । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका सदस्य दीर्घराज उपाध्यायले सन् २०१९ मा हंगेरीमा भएको वल्र्ड साइन्स फोरममा सहभागिता जनाइसकेका छन ।
नेपाली पत्रकार अन्तर्राष्ट्रिय फोरममा सहभागी हुँदा अन्य मुलुकका पत्रकारसँग अनुभव साटासाट हुनुका साथै आफ्नो लेखन क्षमता, बुझाइ र सिकाइमा समेत यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ । पछिल्लो समय नेपालका विज्ञान–प्रविधि पत्रकारहरुले विभिन्न अन्तर्राष्ट्रिय मिडियामा रिपोर्टिङ गर्ने अवसर पाएका छन् । द थर्ड पोल, साइन्टिफिक अमेरिकन, नेचर, मङ्गाबे, गाभी, अन्ड्राक, द साइन्टिस्ट, न्युयोर्क डेली न्युज आदिमा दर्जनजति नेपाली विज्ञान पत्रकारहरुका रिपोर्ट प्रकाशित भएको देखिन्छ, जुन पत्रकारहरुका लागि ठूलो अवसर हो ।
विज्ञान–प्रविधि पत्रकारिताका चुनौती
पछिल्लो समयमा नेपालमा विज्ञान पत्रकारिता बामे सर्न थाले पनि अझै विभिन्न चुनौती यथावत् रहेका छन् । कुनै पनि मिडिया हाउसले छुट्टै विज्ञान रिपोर्टर नियुक्त गरेको देखिँदैन । यसले गर्दा विज्ञानका समाचार, लेख जुन मात्रामा अखबार, रेडियो, टेलिभिजन, अनलाइनमा आउनुपर्ने हो, त्यसअनुसार आएको पाइँदैन । विज्ञान बिटलाई छुट्टै मान्यता दिइएको छैन ।
वैज्ञानिक अनुसन्धानका विषयवस्तु जटिल हुने भएकाले सजिलै बुझ्न सकिँदैन । तसर्थ, अधिकांश पत्रकारलाई विज्ञानका विषयवस्तु असहज लाग्नु स्वभाविक हो । विज्ञानका प्राविधिक शब्दावली सजिलोसँग बुझ्न नसकिने भएकाले अधिकांश पत्रकार यो क्षेत्रमा आउन चाहँदैनन् । वैज्ञानिक शब्दावलीको उचित ज्ञानबिना पत्रकारले रिपोर्टिङ गर्दा कतिपय अवस्थामा अनर्थ हुनसक्छ । त्यही भएर गुणस्तरीय विज्ञान रिपोर्टिङ जनमानसमा ल्याउन चुनौतीपूर्ण छ।
हामीकहाँ विज्ञान पत्रकारिता मात्र होइन, समग्र विज्ञान नै सरकारको प्राथमिकतामा छैन । सरकारले विज्ञान–प्रविधि र अनुसन्धानको क्षेत्रमा अति न्युन बजेट छुट्याउँदै आएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकाय र विज्ञान पत्रकारबीच समन्वयात्मक ढंगले काम हुन सकेको छैन । पत्रकारको दक्षता अभिवृद्धि र गुणस्तरीय कामका लागि अल्पकालीन तथा दीर्घकालीन योजना ल्याएको देखिँदैन ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट), बिपी प्लानेटोरियमलगायत केही निकायले बेलाबेलामा विज्ञान पत्रकारिता तथा लेखनसम्बन्धी तालिम सञ्चालन गर्दै आए पनि त्यो पर्याप्त छैन । हामीकहाँ विज्ञान पत्रकारितामै दक्षता हासिल गरेका प्रशिक्षकको खाँचो छ। तसर्थ, तालिम सैद्धान्तिक विषयवस्तुमा बढी केन्द्रित हुने हुँदा त्यसले गुणस्तरीय विज्ञान लेखनलाई अपेक्षित टेवा दिन सकेको छैन । अहिलेसम्म विज्ञान पत्रकारिताका सिद्धान्त र विधिहरु समेटिएको ‘ह्यान्डबुक’ उपलब्ध छैन । यस्तो बुक तयार भएमा पक्कै पत्रकारितालाई सहज हुन्छ।
अधिकांश मिडियामा राजनीति, अपराधजस्ता समाचारले अन्य समाचारलाई ‘डोमिनेन्ट’ गरेको देखिन्छ । यस्तो अवस्थामा विज्ञान रिपोर्टिङ ओझेलमा पर्नु अन्यथा होइन । यस्तो अवस्थामा विज्ञान रिपोर्टिङ सबैले बुझ्ने भाषामा सम्प्रेषण गरेर लोकप्रिय बनाउनु चुनौतीपूर्ण छ । विज्ञान पत्रकारको वृत्ति विकासका लागि तालिम, सेमिनार र फेलोसिपका अवसर पर्याप्त नहुँदा उनीहरुलाई यही क्षेत्रमा टिकाइराख्न पक्कै सजिलो छैन ।
हामीकहाँ रहेको चुनौती भनेको वैज्ञानिक समुदाय र विज्ञान पत्रकारबीच अझै ठूलो ‘ग्याप’ छ । वैज्ञानिक समुदायले आफूले गरेका अनुसन्धानबारे पत्रकारलाई पटकपटक जानकारी गराएको देखिँदैन । त्यस्तै गरी, पत्रकारले पनि के–के अनुसन्धान हुँदैछ भनी फ्लोअप गर्ने गरेको पाइँदैन । त्यसो त पत्रकारहरु ब्रेकिङ न्युजको पछि दौड्नुपर्ने बाध्यताले गर्दा पनि यस्तो अवस्था आएको देखिन्छ ।
आगामी बाटो
वैज्ञानिक अनुसन्धान तथा गतिविधिलाई आममानिसले बुझ्ने भाषामा समाचार बनाउन कुशल विज्ञान पत्रकारको जरुरी पर्छ । वैज्ञानिक समुदायले जतिसुकै उत्कृष्ट अनुसन्धान र खोज गरे पनि त्यसको सन्देश जनतामा पुग्न सकेन भने कुनै औचित्य रहँदैन । त्यही भएर पनि विज्ञान पत्रकारिताको महत्व र औचित्यलाई वैज्ञानिक समुदाय, सरकारलगायत सबै निकायले आत्मसात गर्नु जरुरी छ ।
विज्ञान–प्रविधिलाई आममानिसम्म लैजान अतिआवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसैगरी, विज्ञान पत्रकारितामा लागेका पत्रकारको वृत्ति विकासलाई ध्यान दिनुपर्छ । दक्षता बढाउन तालिमका साथै उनीहरुका कामलाई हौसला बढाउन पुरस्कार, फेलोसिपलगायत कुराको व्यवस्था गरिनुपर्छ । सरकारले विज्ञान पत्रकारलाई तालिम दिनका लागि कुनै संस्था स्थापना गर्नुपर्छ । यदि संस्था स्थापना भइसकेका छन् भने तालिमका गतिविधि अगाडि बढाउन सहयोग गर्नुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विज्ञान तथा प्रविधि महाशाखाले गुणस्तरीय विज्ञान पत्रकारिताका लागि उचित योेजना तुर्जमा गरी परिणाममुखी काममा ध्यान दिनु जरुरी छ ।
नेपालमा पत्रकारिताको पठनपाठन सुरु भएको निक्कै वर्ष भइसकेको छ । पत्रकारिताको पढाइभित्र विज्ञान पत्रकारितालाई पनि समेट्नुपर्छ । विज्ञान पत्रकारिताको गुणस्तरीय विकासका लागि केही विज्ञान पत्रकारलाई तालिमका लागि बाहिरी मुलुक पठाएर उनीहरु फर्किएपछि स्वदेशमै त्यस्ता तालिम चलाउन सकिन्छ।
अखबार, रेडियो, टेलिभिजिन, अनलाइन आदि मिडियामा विज्ञान समाचार तथा फिचरको कभरेज बढाउन उत्प्रेरित गरिनुपर्छ । बेलाबखतमा ती मिडियाका सम्पादक, डेस्क एडिटरसँग संवाद गर्न सकिन्छ । यसैगरी, विज्ञानका राष्ट्रिय तथा अन्तर्राष्ट्रि संवादलाई निरन्तरता दिनसकिएमा पक्कै पनि आमजनतामा विज्ञान र विज्ञान पत्रकारिताको बुझाइमा नितान्त परिपक्वता आउन सक्छ ।
विज्ञान पत्रकारितालाई प्रभावकारी बनाउन साझेदारी र सहकार्य महत्वपूर्ण पाटो हो । वैज्ञानिक समुदाय र पत्रकारबीचको समन्वय र सहकार्यलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्छ । यसो गरिएमा तथ्यपरक र गुणस्तरीय विज्ञान–प्रविधि पत्रकारिताको उचित वातावरण तयार हुन्छ ।
(लेखक नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे)का संस्थापक अध्यक्ष हुन् )