क्यान पारदर्शी छैन, यस्तै हो भने नेपालले धेरै गुमाउनुपर्ने हुन्छ 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
क्यान पारदर्शी छैन, यस्तै हो भने नेपालले धेरै गुमाउनुपर्ने हुन्छ 

काठमाडौ -पारसले सबै क्रिकेटप्रेमीहरुलाई निराश पारेका छन् र सन्दीपको क्षमतालाई तिरस्कार गरेका छन् । 

नवीन अर्याल खेल पत्रकारिताको सुपरिचित नाम हो । नवीनले खेलसम्वध्द सङ्घसंस्था र खेलाडीको नालीबेली केलाउन सक्ने गरी अध्ययन गरेका छन् । खेल क्षेत्रभित्र हुने व्यावसायिक चलखेल, राजनीतिक हस्तक्षेप र अस्वास्थ्य दाउपेचको उत्खनन गर्ने क्षमता भएका नवीन खेल पत्रकारिताको चलनचल्तीको स्वभावसँग केही दूरी राख्छन् । उनले नेपाली खेलकुदको इतिहास अन्वेषण गरेर गहकिलो पुस्तक हालै प्रकाशमा ल्याएका छन् । पत्रकारितासँगै खेल विज्ञका रूपमा नवीन एक जना सिद्धहस्त लेखकको परिचयमा उदाएका छन् । उनले पुस्तक लेखनको लामै सूचि पनि तयार गरेको सुनाए ।

अहिले चर्चामा रहेको क्रिकेट खेल र क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सम्बन्धित प्रसङ्गको सेरोफेरोमा रहेर  लेखक तथा खेल विश्लेषक नवीन अर्यालसँग विस्तृत वार्ता गरेको छ । क्यान पारदर्शिताको प्रश्नले घेरिएको बताउँदै उनले यसमा सुधार हुन नसके नेपालले धेरै कुरा गुमाउन सक्ने चिन्ता प्रकट गरे । यस्ता विषयमा प्रश्न उठाउनुपर्ने खेल पत्रकारिता पनि अवसरहरूको प्रलोभनमा जेलिएको नवीनको टिप्पणी छ ।

पढौँ थप विवरण नवीनकै शब्दहरूमा— 

अहिले नेपालमा बिशेषगरी क्रिकेटको विषयमा धेरै बहस हुने गरेको छ । खास गरी क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर धेरै चर्चा छ । सन्दीपले विश्वकप खेल्न जाने भिसा पाउने नपाउने भन्ने विषय त विवादमै छ । यो सबै परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?

सन्दीपमाथि अहिले एकदमै ठुलो अन्याय भएको छ । जसरी कुनै बेला सचिन तेन्दुलकर भारतको क्रिकेटको मेरुदण्ड भनेर चिनिन्थे, अहिले नेपालमा सन्दीप त्यही स्तरमा चर्चामा छन् । अहिले उनको भिसाको प्रक्रिया जुन छ र जसरी अमेरिकी दूतावासलाई भिसा दिएन भन्दै काठमाडौँमा  नारा जुलुस पनि भयो । अमेरिकाले भिसा नदिएको अथवा सन्दीपले भिसा नपाएको कारण के हो भने सुन्दिपलाई अहिले नेपाल क्रिकेट सङ्घले आफ्नो १५ सदस्य क्रिकेट टिममा समावेश गरेको छैन । क्यानको कार्य समिति र विशेष क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले यो सबै खेलको जिम्मेवारी लिनुभएको छ । कार्यसमितिलाई पनि पन्छाएर जसरी उहाँहरू व्यवस्थापनमा खटिनुभएको छ । त्यसैले यसमा सबैभन्दा बढी दोष म उहाँहरूको देख्छु । उहाँहरूले अमेरिका र नेपालको जुन ‘पिपुरल्स टु पिपुल्स’ सम्बन्ध थियो । त्यसलाई पनि अहिले बाटोमा आएर गाली गलौचको अवस्थामा ल्याइदिनुभयो ।

यो कुनै ठुलो समस्या नै होइन । जसरी सन्दीपले अदालतबाट सफाइ पाइसकेपछि अन्तर्राष्ट्रिय नियममा एउटा प्रारम्भिक टिम सुरुमा नै पठाउने चलन हुन्छ । अन्तिममा त्यो टिम प्रतियोगिता हुनुभन्दा ४८ घण्टा भन्दा अगाडि खेलाडिको नाम फाइनल ड्राफ्ट हुन्छ त्यसलाई नै अन्तिम मानिन्छ । त्यो समय अझै बाँकी छ । त्यसैले सन्दीपले सफाइ पाइसकेपछि उनलाई फाइनल ड्राफ्टमा नेपालको नं १ खेलाडी भएको कारणले गर्दा पनि प्राथमिकतामा राखेर १५ सदस्यीय टिमको घोषणा गर्नुपर्थ्यो । तर क्यानले आजसम्म त्यो गरेको छैन । अमेरिकाले अब नेपालको राष्ट्रिय टिममा नै समावेश नभएको खेलाडीलाई कसरी भिसा दिने, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । क्यानको अहिलेको नेतृत्व विशेष गरी चतुर बहादुर चन्द र पारस खड्काले १५ सदस्यीय टिममा उनको नाम किन नराखेको यो नै रहस्यमय छ । उहाँहरू सन्दीपको लागि चिन्तित छौँ उ नभए भंयकर हुन्छ भनेर बाहिर चाहिँ आफ्नो फ्यानहरूलाई बेवकुफ बनाइराख्नुभएको छ । उहाँहरूले सन्दीपको नाम १५ सदस्यीय टिममा राख्ने बित्तिकै आयोजक देशको नाताले अमेरिकाले भिसा दिन बाध्यकारी अवस्था बन्छ । किनकि आइसिसीले सन्दीपको नाम त्यहाँ हुने बित्तिकै स्टेट डिपार्टमेन्टलाई भिसाको प्रक्रियाको लागि उनीहरूले माथिबाट निवेदन गरेर पनि सहज हुन्छ । तर यहाँ अहिले भिसा दिएन भन्दै मन्त्रीहरुकोमा धाउने तर नाम चाहिँ नपठाउने अनौठो व्यवहार प्रदर्शन भएको छ । 

क्यानको नेतृत्वले जे प्रक्रिया गर्नुपर्थ्यो त्यो नगरेर भावनात्मक कुरा मात्र गयो र  प्रक्रिया सामेल गराएर व्यवस्थापकिय रूपमा क्यानले काम गरेन भन्ने हो ?

सबैभन्दा सजिलो कुरा के हो भने आयोजक राष्ट्रको नाताले अमेरिकाले त्यहाँ खेल्न जाने क्रिकेट टिमलाई भिसा दिनुपर्ने अनिवार्य सर्त छ । तर त्यो टिममा नै नभएपछि के आधारमा भिसा दिने सुन्दिपलाई ? त्यसैले यो बनावटी कुरा गरेर व्यवस्थापनले आफ्नो इमेज राम्रो हुन्छ भनेर गरेको कुरालाई लिएर हुँदैन । म क्यानलाई प्रश्न गर्छु, सन्दीपको अहिलेको स्ट्याटस चाहिँ के त ? उनी राष्ट्रिय खेलाडी हुन कि होइनन् ? हुन् भने टिममा नाम समावेश हुनुपयो कि त मुद्दाको कारण पहिले नै टिम छनोट गरेका थियौं, अहिलेको लागि सरी भन्नुपयो । नत्र यो अमेरिका र नेपालको सम्बन्धलाई सडकमा ल्याएर जिन्दावाद र मुर्दावादको विषय बनाउन क्यानको नेतृत्वले मिल्दैन ।

सन्दीप लामिछाने क्रिकेटमा आएदेखि निकै चर्चामा छन्, पछि न्यायिक अनुसन्धानमा परेर विवादमा अल्झिए तर लामो कानुनी प्रक्रिया पछि सफाई पाएका छन् । सुन्दिपलाई नै केन्द्र विन्दुमा राखेर अरू खेल विधा ओझेलमा पर्ने गरी किन विवाद भइरहन्छ ? किन सुन्दिपलाई मुख्य पात्र बनाएर नेपाली क्रिकेटको चर्चा भइरहेको हो ?  

मलाई पनि अचम्म लागेको कुरा यस्तै नै हो । तर घटनाहरूले यस्ता विवादलाई पुष्टि गर्दै जाने कुरा हो । पहिला देखि नै सन्दीप र पारस खड्काको सम्बन्ध राम्रो छैन भन्ने कुरा आएको थियो । तर मलाई के लागेको थियो भन्दा पारस खड्का नेपालको राम्रो क्याप्टेन भएको हिसाबले उनले पनि धेरै सङ्घर्ष गरे । क्रिकेट सङ्घमा उसलाई पनि क्याप्टेनबाट निकालियो फेरि आए प्रतिबन्ध लगाए, एक्लै क्रिकेट सङ्घ पनि हाँके सबै गरे । यो सबै कुरा बुझेको भएर क्रिकेट सङ्घमा उनी सचिव भएर आइसकेपछि यस्तो कुराहरू फेरि हुँदैन भनेर मलाई लागेको थियो । तर अहिले आएर उनले सबै क्रिकेटप्रेमीहरुलाई निराश पारेका छन् र सन्दीपको क्षमतालाई तिरस्कार गरेका छन् । 

सन्दीपको प्रतिभा नै उनलाई आलोचनाको केन्द्रमा राख्ने विषय हो त ? 

अब क्यानको अहिलेको नेतृत्वले के भन्यो भन्दा सन्दीपको प्रतिभा नै उनको लागि हानिकारक भएको जस्तो देखिई रहेको छ । यसरी क्रिकेट कसरी अगाडि बढ्छ मैले त त्यस्तो देखेको छैन । 

क्यानले देशभरको क्रिकेटको प्रतियोगिता हुन्छ स्थानीय तह देखि क्षेत्र र प्रदेश तहमा त्यसको संयोजन कसरी गरिरहेको छ । खेलाडीहरूको प्रमोसन गरौँ उनीहरूलाई राम्रो किसिमले अगाडि बढाउ र राम्रो खेलाडी निर्माण गरौँ भन्ने खालको कुनै योजना बनाएको र त्यसमा लगानी भएको देखिन्छ ? 

छैन । किनभने ग्रास रुट तहमा जति लगानी हुनुपर्ने हो, त्यति भएको छैन । अहिले यो भन्दा भन्दै सन्दीपको बढी कुरा भएको भएर आज क्रिकेट सङ्घमा यो वल्र्डकपमा छनोट भएको कसिसि प्रिमियम लिग जितेको, कसिसि खेलेको र हामीले डिभिजन २ को आयोजना गर्ने अवसर प्राप्त गरेको नाताले एउटा फन्ड भने दिएको छ । त्यो लगभग लगभग २० करोडको हाराहारीमा छ । त्यो रकम ल्याउनुमा सबैभन्दा मुख्य योगदान भनेको सन्दीप लामिछानेको खेल हो । उनले जसरी नेपाललाई जिताएको कारणले जुन सहयोग रकमहरू आएको छ । त्यसको आजसम्म पनि केही भएको छैन । क्यानमा नयाँ नेतृत्व आएको छ उसले क्रिकेट सङ्घमा हिजो आर्थिक पारदर्शिता भएन, भित्रको पैसाको गडबडि भयो भनेर मुद्दा गरेर प्रतिबन्धको अवस्थासम्म पुग्यो । तर अहिले आफू त्यो पदमा आएपछि त्यो हिसाब आजसम्म देखाइएको छैन । किन त ? 

आफ्नो वेबसाइटमा यो टुर्नामेन्टमा यति पैसा खर्च भयो यो भयो भनेर देखाए भयो त अहिलेसम्म त्यो पैसा कता कता खर्च भयो भन्ने कुरा केही पनि देखिएको छैन र यो विश्वकपको तयारीको लागि जसरी एक एक महिना अगाडि नै खेलाडीहरूलाई बाहिर पठाइयो, मेरो विचारमा हाम्रो तयारी अलि माथिल्लो तहको खेलाडीहरूसँग हुनुपर्ने थियो । किनभने हामी घुम्न गएको होइन, हामीले एशोसिएट देशहरूमा राम्रो खेलेर राम्रो चर्चा भइसकेको छ । राम्रो खेल प्रदर्शन गरिसकेका छाै । 

आइसिसीले पनि त्यही अनुसार हामीलाई माथिल्लो तहमा राखेर आर्थिक सहयोगहरू गरिरहेको छ भने अब हाम्रो अर्को लक्ष्य भनेको टेस्ट प्लेइङ् नेशनहरुसँग गजबको परिणाम ल्याएर हामी अझ माथि जाने कुरा हो । त्यसको लागि जुन किसिमको तयारीहरु हुनुपर्ने थियो । त्यो तयारी मैले देखिरहेको छैन । यो एक महिना गएर त्यो वेस्ट इन्डिजको क्लब टिमसँग खेल्ने, अमेरिका गएर क्लब टिमसँग खेल्ने, भनेपछि सरकारले दिएको त्यो ५ करोड त्यसै खर्च गरेर र आफ्नो वेस्ट खेलाडीलाई घरमा थन्काएर वल्र्डकप खेल्न जानु भनेको यो क्रिकेटमा राम्रो सङ्केत हो  जस्तो मलाई लागिरहेको छैन । 

क्रिकेटकै कुरा गर्दा यसमा खेलाडीहरूको कारणले नेपालको खेलकुद पछि परेको भन्दा पनि विधागत नेतृत्वको व्यवस्थापन कमजोर भएका कारणले पछि परेको जस्तो देखियो होइन त ? 

हो नि । किनभने खेलाडीहरूले आफ्नो स्थानबाट सय प्रतिशत योगदान दिइरहेका छन् सबैले, आर्थिक समस्या भए पनि पारिवारिक समस्याहरू भए पनि एकदमै मेहनत गरेर लागि रहेका छन् तर हाम्रोमा संस्थाहरू प्राय हेर्छु म खेलकुदको संस्थाहरू यो क्रिकेटको मात्र कुरा होइन । अरू संस्थाहरूमा पनि हेर्छु, पैसा आइसकेपछि पैसाको यति धेरै नराम्रो व्यवस्थापन छ र यति अपारदर्शी रूपमा खर्च गरेको हुन्छ । ग्रास रुट तहमा अहिले पैसाहरू जानु पर्ने थियो जुन आइसिसीबाट करिब २१ करोड जुन आएको छ । त्यो नयाँ खेलाडी उत्पादन गर्न खर्च गर्नुपर्थ्यो नि त । 

खेल संस्थाहरू पारदर्शी हुनुपर्छ । त्यसको लागि सबैभन्दा ठुलो कमजोरी भनेको राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको हो । जब क्रिकेट यति राम्रो खेल हो २ पटक वल्र्डकप खेलि रहेको छ र अगाडि बढ्ने धेरै सम्भावना देखिन्छ । सरकारले पनि यसलाई एकदमै ठुलो महत्वका साथ हेरेको छ, त्यसैले क्रिकेटको रङ्गशाला बनाउने विषय पाइलट प्रोजेक्टमा राखेर अगाडि बढाएको छ, बजेटमा पनि त्यति धेरै पैसा राखेको छ । यति धेरै सरकारदेखि सबैले गरिरहेको छ भने त्यहाँ भित्र भएको जुन विदेशबाट आउने पैसाहरू जति पनि छ त्यसको पारदर्शिताको एकदमै ठुलो सङ्कट देखिरहेको छु । योभन्दा अगाडि पारस खड्का सचिवको नाताले अमेरिकामा फन्ड लिन भनेर जानु भयो, उहाँले त्यो काम गर्दै गर्दा राष्ट्रिय खेलकुद परिषद् अथवा युवा मन्त्रालयसँग किन समन्वय नगरेको ? किनभने अमेरिकामा त डलरको कारोबार हुन्छ । डलरमा कारोबार गर्दा हाम्रो नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिनु पर्छ त्यसको लागि मन्त्रालयबाट अथवा राष्ट्रिय खेलकुद परिषद्बाट उहाँले स्वीकृति लिनु भएको छ ? मलाइ त त्यस्तो लाग्दैन । त्यो पैसा पनि जुन उठेको छ, आजको मितिसम्म पनि नेपाल क्रिकेट सङ्घको खातामा जम्मा भएको छैन । भनेपछि यस्तो कुराहरूले मानिसलाई डिक्टेटरशिपतिर लान्छ । 

आफ्नो फेमलाई पैसामा परिणत गर्नतिर जसरी मान्छेहरू आतुर भइरहेका छन् । त्यो कुरालाई राष्ट्रिय खेलकुद परिषद्, युवा मन्त्रालय र नेपाल सरकारले अहिले नै चेक एन्ड ब्यालेन्स गरेन भने अर्को ठुलो सङ्कट तर्फ नेपाली क्रिकेट धकेलिन्छ । किनभने आइसिसीले फन्डको दुरुपयोग गरेको कुरा स्वीकार गर्दैन । यो कुरा फुटबलमा पनि लागू भई सक्यो, गणेश थापालाई १० वर्ष प्रतिबन्ध लगाएको यही आर्थिक अपारदर्शिता नै मुख्य कारण थियो । 

पञ्चायतकलादेखि नै राष्ट्रिय खेलकुद परिषद्मा एउटा प्रवृत्ति हुर्किँदै आएको छ । पारदर्शिताको प्रश्न त छ नै, आज पनि त्यो प्रवृत्तिले काम गरिरहेको जस्तो लाग्छ ? 

पञ्चायतकलामा खेलाडीहरूलाई प्रोत्साहन गर्नको लागि अन्तर्राष्ट्रिय स्तरमा पहुँचहरू पुयाउनको लागि जुन किसिमको कटिबद्ध भएर सङ्गठन लागेको थियो । तर अहिले त्यो हिसाब किताबमा लागेको पनि देखिँदैन । पहिलाको तुलनामा पैसाहरू आइरहेको अन्तर्राष्ट्रिय स्तरबाट पैसाहरू आएको छ । त्यो कुरामा परिषद्ले जसरी पहिला नियन्त्रण गर्थ्यो पञ्चायत कालमा त्यो समयमा पैसा पनि कम आउँथ्यो  तर अहिले खेल क्षेत्रले फड्को राम्यो त्यो भएर जुन पैसा आउँछ त्यो पैसा कहाँ सदुपयोग हुन्छ भन्ने कुरा सूक्ष्म रूपमा हेर्ने काम राष्ट्रिय खेलकुद परिषद्ले गर्छ किनभने उसले आफूलाई अभिभावकी संस्था भनेर भन्छ भने त्यो पैसा दुरुपयोग भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि उनीहरूको हो । त्यो काम भइरहेको छैन । 

अहिले नै क्रिकेटको कुरा गर्दा खेलकुद परिषद्को पदाधिकारीहरू र युवा तथा खेलकुद मन्त्रालयमा भएका व्यक्तिहरू आफै क्रिकेट सङ्घसँग अमेरिकाका लागि भिसा लगाइदिनु पर्‍यो भनेर अनुरोध गर्दै हिँड्छन् भने उनीहरू कसरी क्रिकेट सङ्घको हिसाब किताब हेर्न सक्ने हैसियत राख्छन् त ? 

तपाईँले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र खेलकुद विधालाई मुख्य विधा बनाएर काम गर्नु भएको छ । यो राष्ट्रिय खेलकुद परिषद् र विधागत सङ्घहरूको जुन अपारदर्शिता प्रवृत्ति हुर्किरहेको छ । त्यो खेलकुद पत्रकारहरूको त्यति ठुलो सङ्गठन छ,  पत्रकारहरू के गर्छन् त ? 

हाम्रो सबैभन्दा ठुलो दुर्भाग्य के भयो भने हामी जो संस्थामा काम गर्छौ त्यो संस्थाले पनि खेलकुदलाई एउटा मनोरञ्जनको रूपमा मात्र लिन्छ । त्यसलाई एउटा व्यावसायिक रूपमा लिएको छैन । मैले प्रत्यक्ष अनुभव गरेको कुरा एउटा, हामीहरू जहाँ जबाफदेही हुनुपर्ने हो त्यो संस्थाले नै हामीहरूलाई जबाफदेही बनाएको छैन भने अर्को कुरा आर्थिक कुराहरू किनभने मिडियामा काम गर्दा समयमा पैसा नदिने भएपछि अर्को पाटोहरू हेर्नुपर्‍यो र अर्को कुरा सबैभन्दा ठुलो ग्ल्यामरश कुरा के भन्दा खेलकुदमा लागेपछि विदेश जाने अवसरहरू बढी हुन्छ । त्यो भएपछि मानिसलाई लोभ त्यत्तिकै भइहाल्छ । विदेश जान पाए हुन्थ्यो भन्ने भएपछि, अब त्यहाँ जान के हुन्छ भने विदेश जाने लोभले एसोसिएसनमा जान पर्छ त्यसको ट्यागबाट जानुपरेपछि तपाइको त्यो हिम्मत नै हुदैँन् कि त्यहाँभित्रको खराब प्रवृत्तिको आलोचना गर्न । किनभने आलोचना गर्ने हो राम्रो मानिनु हुदैँन् । त्यसपछि तपाइले समाचार कसरी लेख्नु हुन्छ । 

यही कुरामा यत्रो ठुलो हाउसहरू छ । कति आफै सञ्चालन भएका मिडियाहरू छन् । त्यो मिडियाहरूले नेपालले वल्डकप खेल्दै छ अमेरिकामा हाम्रो तर्फबाट एक जनालाई पठाउँछु भनेर भन्यो भने त भोली उसले लेख्छ नि त के सही के गलत हो भनेर तर त्यो क्रिकेट सङ्घकै पदाधिकारीसँग दाइ मलाई लानु पर्‍यो तपाइको अन्तर्वार्ता राम्रो बनाएर हाल्छु भन्ने अवस्था भएपछि कसरी समाचार राम्रो हुन्छ । हाम्रो सोच नै त्यो किसिमको छ । जसले गर्दियो, घुमाइदियो, त्यसको नराम्रो कुरा पनि राम्रो भन्नु पर्ने अवस्था छ । सत्यको खोजी गर्न होइन, सम्झौतातिर गयो हाम्रो पत्रकारिता । 

हाम्रो क्रिकेटको भविष्य कस्तो देख्नु हुन्छ ? 

मैले जहिले पनि लेख्दा यसको अन्तिममा गएर के हुन्छ भनेर जहिले पनि सोच्छु । यो केशमा पनि मैले के देखिरहेको छु भने जसरी क्यानभित्र अपारदर्शिता मौलाइ रहेको छ । जुन पैसाहरू आइरहेको छ । नेपालले पछिल्लो समय गरेको सन्दीप लामिछाने हुँदा हासिल गरेको सफलताको कारणले गर्दा जुन अनुदान पैसा जुन आइरहेको छ । त्यो पैसाको यति धेरै नराम्रो व्यवस्थापन भई रहेको छ क्यानभित्र त्यो कुरालाई अहिले राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले त्यसलाई लगाम लगाएन भने फन्डिङहरु राम्रो नहुने बित्तिकै हिसाबको पारदर्शिता नहुने बित्तिकै किनभने क्यानमा सबै जना एउटै सोचको मान्छे बसेको हुदैँन। विभिन्न सोचको मानिस बसेको हुन्छ । त्यो बढ्दै बढ्दै गएर नराम्रो व्यवस्थापनमा गएर अन्तिममा आइसिसीले आर्थिक प्रतिबन्ध लगाउनु पर्ने अवस्था हुन्छ । एकै पटक गर्दैन । अहिले जसरी नेपालको क्रिकेट अगाडि बढोस् भनेर दिल खोलेर दिएको छ । त्यसलाई नियन्त्रण गर्छ । त्यो भयो भने यहाँ झन ठूलाे तमासा हुन्छ । सबै खेल पैसाको हो त्यसले क्रिकेट सङ्घलाई अर्को प्रतिबन्ध तर्फ लान्छ ।