काठमाडौँ - नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ।
दिनेश राउत निर्देशित यो फिल्मले कर्णालीका रहनसहन र जीवनशैलीलाई कथावस्तु बनाएको छ । समीक्षात्मक रूपमा पनि यो फिल्म दर्शक र फिल्मकर्मीले मन पराएका थिए ।फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
बिनिस् इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ ।
२०१७ देखि सञ्चालनमा आएको भिडिया पसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत एक गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्म उपलब्ध छन् ।