‘अभिनेत्रीहरु एक्सन फिल्ममा आउन जरुरी छ’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२२ दिन अगाडि
‘अभिनेत्रीहरु एक्सन फिल्ममा आउन जरुरी छ’

काठमाडौँ -रोमान्टिक फिल्म खेल्दै आएकी पूजा शर्मा अब एक्सन अवतारमा देखिंदैछिन् ।

उनको डेब्यु एक्सन फिल्म ‘दान्भी’ असार ७ गते प्रदर्शन तयारीमा छ । पर्दामा महिलाको बलियो उपस्थिति दर्शाउन पनि ‘दान्भी’ जस्ता एक्सन फिल्म बन्न जरुरी रहेको उनको तर्क छ । प्रेमगीत, म यस्तो गीत गाउँछु जस्ता फिल्मले लगाएको लभरगर्लको छापलाई मेटाउन पनि यो फिल्म आफ्नो करिअरमा महत्वपूर्ण रहेको पूजा बताउँछिन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै पूजाले आफू एक्सन फिल्ममा अघि बढ्न खोजेको बताइन् । ‘दान्भी’ पूजाको १२ वर्ष लामो अभिनय करिअरमा १६ औँ फिल्म हो ।उनीसँगको संवादको सम्पादित---

‘दान्भी’ कस्तो फिल्म हो, किन हेर्ने ?

यो एक्सन प्रधान फिल्म हो । दान्भी शक्तिको उदाहरण हो । तल पर्न नसक्ने, जे परिस्थिति आए पनि लड्न सक्ने । यसले केटीलाई निडर भएर जिउन सिकाउँछ ।

‘दान्भी’ले पूजा शर्माको करिअरमा के अर्थ राख्छ ?

दर्शकले मलाई लभ स्टोरीमा मात्र देखिरहनुभएको थियो । अब उसले एक्सन फिल्म पनि गर्न सक्छ है अर्थात् एक्सन लेडी भनेर चिनोस् भन्ने चाहना छ ।

‘दान्भी’सँग दर्शकलाई हलसम्म तान्न सक्ने आधार के छन् ?

पहिलो त, ‘दान्भी’ पूजा शर्माको एक्सन फिल्म हो । केटीले कसरी एक्सन गरेको छ भनेर दर्शकलाई चासो हुनसक्छ । स्टोरी पनि बलियो छ । हामीले हेरिरहेको सामान्य फिल्मभन्दा यसमा केटीको एक्सनलाई प्रस्तुत गरिएको छ, जुन दर्शकलाई मन पर्न सक्छ।

तपाईँले रोमान्टिक र लभ स्टोरी फिल्म गर्दै आउनुभएको थियो । एक्सन फिल्ममा डेब्यु किन ?

एउटा च्यालेन्ज फेस गरौं भनेर म यसमा लागेकी हुँ ।

तपाईँले अब आफूलाई एक्सन फिल्ममा अघि बढाउन खोज्नुभएको हो र?

एक्सन म आफैँले गर्नैपर्ने हुन्छ । सुरक्षित भएर एक्सन गरेको छु । हामी कलाकारलाई यो मात्र नभएर अरु फिल्म पनि गर्नुपर्ने हुन्छ । कतिपय जोखिम हुने ठाउँमा हामीलाई सुरक्षित तरिकाले काम गर्न मिल्ने सुविधा दिइएको हुन्छ । एक्सन वास्तविक नै हो। मैले सामाजिक सञ्जालमा रिहर्सल भिडियोहरु पनि राखेको थिएँ । त्यो वास्तविक एक्सन नै हो ।

अभिनेत्रीहरु किन एक्सन फिल्ममा आउन जरुरी छ ?

किनभने केटीहरु अरुको भरमा बस्ने मात्र होइन भन्ने लाग्छ । भोलि आफूलाई आइपर्दा, आफूलाई सहारा दिनेभन्दा पनि आफूले नै केही गर्न सकौं भन्ने जरुरी छ ।

तपाईँलाई कतिपयले स्टार, लेडी टाइगर पनि भन्छन् । कलाकारको रूपमा यी कुरा सुन्दा कस्तो महसुस हुन्छ ?

यो चाहिँ आफूले गरेको दुःखको नतिजा हो जस्तो लाग्छ । किनभने कसैले ट्याग राखेर, नाम राखेर हुने चीज चाहिँ होइन । दर्शकले भन्ने चीज हो । दर्शकले जब अपनाउनुहुन्छ, त्यो ट्याग दिनुहुन्छ । व्यक्तिगतरुपमा कसैले कुरालाई म स्विकार्दिन । दर्शकले भन्नुहुन्छ भने म स्विकार्छु ।

तपाईँ त फिल्म निर्मात्री पनि, अहिले हामीले कस्तो कथामा काम गर्न जरुरी छ ?

कस्तो कथा भनेर थाहा हुँदैन । दर्शकको रोजाइ हो । उदाहरणको लागि सोचेका पनि थिएनौँ । ‘बोक्सीको घर’ दर्शकलाई एक्कासि मन पर्न थाल्यो । दर्शकले कति बेला के मन पराउँछन् र कस्तो मन पराउँछन् भन्ने नै थाहा हुँदैन ।

तपाईँको फिल्म करिअरमा ‘दान्भी’को स्थान कहाँनेर हुन्छ ?

म रातदिन सुत्न सक्दिन डरले । किनभने मैले आफ्नो काँधमा बोकेको फिल्म हो यो । मेरा लागि यो एकदमै महत्वपूर्ण फिल्म हो।यो फिल्मले तपाईँको अभिनय करिअरमा के मद्दत गर्छ ?

म आफूलाई एक्टिङ भन्दा पनि एक्सनमा आफूलाई एक कदम अघि देख्न चाहन्छु । म कहिल्यै पनि एक्टिङ गर्छु भनेर गर्‍या हुँदिन । म रियल लाइफमा त्यही एक्टिङ गर्छु । एक्ट गर्छु भनेर बस्दिन । रियल चीजलाई अभिनय गरेर बसिराख्या हुन्छु ।