टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचार सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१८ दिन अगाडि
टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचार सुरु

काठमाडौं - यही असार २८ गतेबाट रिलिज हुने फिल्म ‘घर ज्वाइँ’ले काठमाडौँको सुनधारास्थित टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ । 

असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरूको महान् पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।

अर्थमन्त्री वर्षमान पुनले शुभारम्भ गरेको भूमे पर्व मेलाको कार्यक्रममा ‘घर ज्वाइँ’ का कलाकार दयाहाङ राई, मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटालगायत टुँडिखेल पुगेका थिए ।

कार्यक्रममा फिल्मका नायक दयाहाङले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफु भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन फिल्ममा बाँच्न पाएको र आफुले यो चरित्रलाई न्याय दिन दिलोज्यान लगाएको बताए ।

नायिका मिरुनाले आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको खुलाउँदै ‘घर ज्वाइँ’ले आफूलाई मगर संस्कृतिबारे बुझ्ने अवसर दिएको बताइन् । ‘म पूर्वेली मगर हुँ । पश्चिमको संस्कार र संस्कृतिको बारेमा बुझ्ने इच्छा थियो । यो अवसर ‘घर ज्वाइँ’ले जुराएको छ,’ उनले भनिन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

फिल्मको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो । एमएसएमले अस्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।