डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

 काठमाडौँ - गीतकार डा। शिव सुवेदीको नयाँ गीत 'म त तिम्रो हैन' सार्वजनिक भएको छ । सुवेदीकै संगीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र शान्तिश्री परियारको स्वर छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच पूर्व कानून तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन्।  गीतकार सुवेदीको गीत घाम जस्तो चम्किलो हुँदैन समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। 

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, घाम जस्तो चम्किलो हुँदैन भन्ने उक्त गीत जन–जनको मुखमा झुण्डिएको थियो। गीत(संगीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छ। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्ने क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्।

कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रुपमा हामीले लागिरहेका छौं। सर्जकका रुपमा डा शिवहरुको भूमिका छ, उनले भनिन्। उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समीक्षा गरेका थिए। गीतकार अधिकारीले भने, शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।  त्यसैगरी बगरले डा सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे। लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ। यो त्यसैको निरन्तरता हो तर यसपल्ट संगीतमा केही फरक आभाष गरेको छ उनले भने। त्यस्तै महतले गीतकार डा सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए। जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाईं थियो। 

मौसम हिमालीको निर्देशनमा तयार भिडिओमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्। कार्यक्रममा मोडल कठायतले डा सुवेदीसँग पढाइ र संगीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गरेका थिए।गीतकार संघ नेपालको आयोजनामा कार्यक्रम भएको थियो। भूकम्प विद्यामा विद्यावारिधी गरेका सुवेदीले आफ्नै युट्युब च्यानलमार्फत म त तिम्रो हैन ल्याएका हुन् ।