काठमाडौँ – -नायक अनमोल केसीले अभिनय बापत प्राप्त पारिश्रमिकबाट रु ७ लाख ५० हजार कर तिरेका छन् । केही समयअघि रिलिज भएको चलचित्र फर्की–फर्किबाट प्राप्त ५० लाख पारिश्रमिकबाट उनले उक्त रकम कर बापत तिरेको सोही फिल्मका निर्माता रोहित अधिकारीले सार्वजनिक गरेका हुन।
समय समयमा नेपालमा कलाकारहरूले सरकारलाई कर तिर्छन् कि तिर्दैनन् होला भन्ने जिज्ञासा चलिरहन्छ भने कतिपय अवस्थामा कलाकारहरू आफै पनि करका विषयमा गसिपका पात्रा हुने गरेका छन् ।
तर, निर्माता रोहित अधिकारीले भने आफ्नो चलचित्रमा अभिनय गरेका अनमोलले सरकारलाई तिरेको कर रकम नै सामाजिक सञ्जालमा पोस्ट गरिदिएका छन् ।
रोहितले पोस्ट गरे अनुसार रोहित अधिकारी फिल्मसबाट अनमोलले एभरेस्ट बैङ्कमा उक्त कर रकम भुक्तानी गरेका हुन् ।
यो त भयो अनमोल केसीले तिरेको कर रकम । तर, अब बाँकी कलाकारहरू जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि तिरेको कर बापतको रकम रोहितले कहिले सार्वजनिक हुने हो कुन्नि । अनि अन्य चलचित्रका निर्माता तथा कलाकारहरूले पनि अनमोलले झैँ कर रकम तिरेको प्रमाण कहिले पेस गर्ने हुन्?
जे भए पनि अनमोलले भने चलचित्र उद्योगमा राम्रै पारिश्रमिक लिने र सरकारलाई पनि कर तिरेको प्रमाण पेस गरेर रिल मात्र होइन रियल हिरोको उदाहरण पेस गरेका छन् । उनीबाट अरू कलाकारले पनि सिक्न भने जरुरी देखिएको छ ।