काठमाडौँ – नाकबाट रगत आएपछि अस्पताल भर्ना भएका वरिष्ठ हास्यकलाकार हरिबंश आचार्यको स्वास्थ्य अवस्था सुधार भएको छ ।
बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो । उनी विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमति पत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिबंश शनिबार विराटनगर आएका थिए ।
उनी आइतबार बिहान काठमाडौँ फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए । हरिबंश आफैंले पनि सोमबार नाकभित्रको सानो नसा फुटेको पाइएको बताएका छन् । ‘फुटेको नाकभित्रको नसालाई टाल्ने काम भइसकेको छ । अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु’, उनले भनेका छन् ।