काठमाडौ -हाम्रो शरीरको विकास र सञ्चालनमा विभिन्न प्रकारको पौष्टिक तत्व र भिटामिन आवश्यक पर्दछ । कुनै पनि भिटामिनको कमी भएमा शरीरमा रोगको जोखिम बढेर जान्छ ।
भिटामिन डी हाम्रो शरीरमा अति आवश्यक छ । तर कतिपय मानिसमा यसको कमी रहने गर्दछ । अझ शहर बजारमा बस्नेहरु भिटामिन ‘डी’को कमीको समस्यासँग बढी जुझ्ने गरेका छन् । त्यसको प्रमुख कारण हो सूर्य किरणको सम्पर्कबाट टाढा रहने । पहिले पहिले मानिसहरू प्रकृतिसँग बढी नजिक हुन्थे, घाममा बढी निस्किने गर्थे र धेरैजसो काम वा क्रियाकलाप खुला वातावरणमै हुने भएकाले घामसँगको सम्पर्क बढि हुन्थ्यो । तर अहिले कोठा भित्र थुनिएर बस्दा ठूलो जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ ।
मानव छालाले सूर्य प्रकाशमा भएको परावैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ । विज्ञहरूका अनुसार, भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन ‘डी’ माछा, च्याउ, दूध, मासु, अन्डा, फोर्टिफिकेसन भएका खाद्यपदार्थहरूमा पाइन्छ । जाडोमा मात्र नभई गर्मी याममा पनि घाम ताप्न आवश्यक हुन्छ । सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हातपाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन ‘डी’ को स्तर उच्च रहन्छ ।