प्रदीप र जेमीको सहकार्य, बेलायती फिल्म मेकरसँग सम्बन्धको पाइला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६९ दिन अगाडि
प्रदीप र जेमीको सहकार्य, बेलायती फिल्म मेकरसँग सम्बन्धको पाइला

काठमाडौं- नेपाली चलचित्रका सुपरस्टार अभिनेता प्रदीप खड्काले प्रमुख अभिनय गर्ने नेपाली चलचित्र ‘एक्लो’मा ब्रिटिस अभिनेता तथा निर्माता जेमी बेकनको पनि प्रमुख अभिनय रहने छ। यो चलचित्र नेपालबाट बन्ने पहिलो पूर्ण ‘साइन्स फिक्शन’ चलचित्र हुनेछ।

यस चलचित्रमा बेकनले अन्तरिक्षबाट फर्कने बेलायती अन्तरिक्ष यात्रीको रूपमा चलचित्रको प्रमुख भूमिकामा अभिनय गर्नेछन्। यसमा खड्काले नेपालको हिमालय क्षेत्रको संरक्षण गर्ने व्यक्तिको रूपमा प्रमुख भूमिकामा अभिनय गर्नेछन्। 

निर्देशक शाहीका अनुसार ‘एक्लो’मा एक महामारीमा आधारित कथा रहनेछ। यो कथामा पृथ्वीमा भविष्यमा हुन सक्ने खतरा देखिनेछ, जहाँ एक भाइरसको सङ्क्रमण बढिरहेको छ। यसको कथामा सो भाइरसबाट जोगिनको लागि मानिसहरू अन्तरिक्षमा उडिरहेका हुनेछन्। करिब ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री ज्याक (बेकन) आफ्नो साथीसँग नेपालको हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन्। उनीहरूले आफ्नो वरपर उपयुक्त वासस्थानको खोजी गर्छन् र पहाडहरू बिचमा लुकेको एक सहर पत्ता लगाउँछन्। त्यो सहरमा उनीहरूले एक रहस्यमय व्यक्ति (खड्का) सँग भेट्छन्। उ हिमालय क्षेत्रमा लामो समयदेखि संरक्षक बसेर बसिरहेको हुन्छ। 


निर्देशक शाही नेपाली-बेलायती फिल्म मेकर हुन्। शाहीले यसअघि ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ चलचित्रहरू निर्देशन गरेका थिए। चलचित्र प्रमुख भूमिकामा जेमी बेकनलाई आफ्नो चलचित्रको लागि रोज्नुको अर्थ खुलाउँदै उनले बेलायती कलाकार र चलचित्र निर्माताहरूसँग सम्बन्ध स्थापित गर्ने लक्ष्य रहेको बताए। आफूले नेपाललाई चलचित्रको मुख्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाए।

“नेपाली चलचित्रलाई विश्वव्यापी सिनेमाको प्रतिस्पर्धात्मक परिदृश्यमा स्थान दिनु, नेपालमा गरिबी र सामाजिक द्वन्द्वका कथाहरू मात्र नभई अन्य कला र कथाहरूको लागि धनी छ भनी देखाउनु मेरो यो चलचित्र बनाउनुको उद्देश्य हो,”  प्रदीप भन्छन्, “एक्लोले बेलायती कलाकार र चलचित्र निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेछ। मैले नेपाललाई चलचित्रको मुख्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने एउटा प्रयास गरेको छु।”

अभिनेता प्रदीप खड्काले आफूसँगै नेपाली चलचित्रमा काम गर्न लागेकोमा जेमीलाई धन्यवाद व्यक्त गरे। प्रदीप भन्छन्, “अन्तर्राष्ट्रिय स्तरमा काम गरेको व्यक्ति नेपाली चलचित्रमा जोडिँदा निकै ठुलो अर्थ राख्छ। यसको लागि जेमी धन्यवादका पात्र हुन्। यो चलचित्रबाट हामीले जुन उद्देश्य राखेका छौँ, त्यो पुरा हुनेमा विश्वस्त छु।”

सदैव आफूले नयाँ नयाँ उद्देश्य बोकेको निर्देशकसँग काम गर्न रुचि राख्ने भएको कारण ‘एक्लो’मा आबद्ध भएको खड्काले बताए। “मैले सधैँ नयाँ भिजन भएको व्यक्तिसँग काम गर्ने इच्छा राख्छु। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने मेरो सोचसँग निर्देशकको सोच पनि मिल्छ,” प्रदीपले बताए। निर्देशकले आफू ‘एक्लो’मा आबद्ध हुनुअघि केही प्रतिबद्धता गरेको र त्यो पुरा गरेपछि काम गर्न राजी भएको उनले बताए।

ब्रिटिस कलाकारको संलग्नता रहेता पनि ‘एक्लो’ पूर्णतया नेपाली चलचित्र रहेको निर्देशकले बताए। उनले जेमी बेकनको संलग्नतामा अन्तर्राष्ट्रिय दर्शकहरूबाट नेपाली चलचित्रमा उल्लेखनीय चासो पैदा गर्ने आशा लिएको बताए। बेकनलाई निर्माताको रूपमा समेत यो चलचित्रमा भित्राएको निर्देशकको दाबी छ।

बेकन विश्व चर्चित ओटिटि प्लेटफर्म नेटफ्लिक्स र बिबिसी सिनेमाबाट ‘क्रेडिट’ प्राप्त गर्ने उदीयमान ब्रिटिस अभिनेता हुन्। उनको चलचित्र ‘मिस्टर लभरम्यान’ आगामी जुनमा हुने ‘ट्रिबेका फिल्म फेस्टिभल’मा प्रवेश गरेको छ। उनले नेटफ्लिक्स शृङ्खला ‘ह्वाइट लाइन्स’ र फिचर चलचित्र ‘ब्राइटन’बाट प्रशंसा प्राप्त गरेका थिए।

 शाइ प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने यो चलचित्रको छायाङ्कन नेपालमा नै हुनेछ। विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, बेनिशा हमाल, कविता नेपाली, दिया पुन,दिनेश डिसी,सुरज सिंह ठकुरी लगायतले पनि ‘एक्लो’मा अभिनय गर्नेछन्। चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन्।