काठमाडौं- आश्मा कुमारी केसीले मिस नेपाल–२०२४ को उपाधि जितेकी छिन् ।
द हिडन ट्रेजरले शनिवार साँझ आयोजना गरेको ३० औं संस्करणको प्रतिस्पर्धामा सहभागि २५ प्रतिस्पर्धिलाई पाखा लगाउँदै आश्माले यो उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रतियोगितामा करुणा रावतले मिस नेपाल इन्टरनेशनल तथा सुमना केसीले मिस नेपाल अर्थको उपाधि जितेका छन् । प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेका छन् ।
मिस नेपाल २०२४ मा यो वर्ष २६ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवाः, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्क्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल तथा सामिन कोइराला सहभागी थिए ।
प्रतियोगितामा छाला रोग विशेषज्ञ डा।रुपक घिमिरे, रेना रिजाल, विजय कर्माचार्य, साहारा बस्नेत राणा, अभिनेता दिव्य देव, मोडल प्रियंका रानी जोशी, क्रिकेटर शरद भेषावकर, कलाकार रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारी तथा पत्रकार लक्ष्मी भण्डारी निर्णायकको रुपमा रहेका थिए । समारोहमा सन् १९९४ मा आयोजित पहिलो मिस नेपालकी विजेता प्रथम नेपाल सुन्दरी रूवी राणाले मिस नेपालले ३०औँ वर्षको यात्रा पूरा गर्न सफल भएकोमा शुभकामना व्यक्त गरिन् ।