फिल्म 'देवी'को टिजर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६९ दिन अगाडि
फिल्म 'देवी'को टिजर सार्वजनिक

काठमाडौं– नयाँ नेपाली फिल्म ‘देवी’ को टीजर शनिवार सार्वजनिक भएको छ ।

फिल्म भदौ २१ गतेदेखि प्रर्दशनमा आउने छ । फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको बताइएको छ ।यो फिल्मको १ मिनेट ३० सेकेण्ड लामो टीजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ । फिल्मको टीजरमा समावेश एक संवादले फिल्म केही वर्षअघि सुदुरपश्चिममा घटेको नाबालिक १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ ।

फिल्मका प्रायः सबै मुख्य कलाकारलाई स्थान दिइएको सार्वजनिक यो टीजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

फिल्मको टीजर हेर्दा देवी पात्रले निर्मला पन्तलाई सम्झाउने देखिएको छ । छ वर्षअघि सुदुरपश्चिममा घटेको एउटा दर्दनाक घटना, जहाँ नाबालिक निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको शव उखु बारीमा भेटिएको थियो । आजसम्म पनि उनका अपराधीलाई कानूनले फेला पार्न सकेको छैन । विभिन्न पटक संसदमा समेत निर्मला पन्तको घटनाका बारेमा चर्चा हुन्छ, तर त्यसको नतिजा भने आजसम्म पनि देख्न पाइएको छैन ।

यहि विषयमा आधारित भएर फिल्म ‘देवी’ बनेको हुनसक्ने दर्शकको अनुमान छ । फिल्मको टीजरले पटक–पटक दर्शकलाई निर्मलाको सम्झना गराउँछ । यो फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने आदिको मुख्य भूमिका रहेको छ । रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्माता रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।