काठमाडौं - दुई वर्षअघि रिलिज भइसकेको सुरक्षा पन्त र नरेन खड्का अभिनित सोसल ड्रामा फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन तयारीमा छ ।
निर्माताले रि–ब्रान्डिङ सहित फिल्मको प्रवर्द्धन गरिरहेका छन् । पोस्टर, प्रचारशैलीदेखि ट्रेलरमा ताजगी दिने प्रयास गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नयाँ कटिङसहितको ट्रेलर रिलिज गरियो । फिल्मले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको सामाजिक परिवेशको कथा भन्छ । यो नारीप्रधान फिल्ममा सुरक्षाले शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।कार्यक्रममा मुख्य अतिथिको रुपमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए । ‘यो फिल्मले संस्कृति, संस्कार रीतिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कला(संस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उत्थान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु,’ उनले भने ।
समाजका विभिन्न विधामा परिचित अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै नेता खड्काले नयाँ कलाकार हुने फिल्म पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न आग्रह गरे ।अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिंड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन् । शिव ढकालको छायांकन रहेको फिल्ममा डेब्यु गर्ल सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईं लगायतका कलाकारको अभिनय छ ।