काठमाडौं- अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् ।
अगष्ट ११, आइतवार जापानको राजधानी टोकियोमा प्रदर्शन हुन लागेको ‘घरज्वाइँ’ को विशेष प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन्। नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगष्ट ११ मा टोकियो, १४ मा नागोया तथा ओसाका सहरमा एकै पटक फिल्म प्रदर्शन हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ । करीब दुई लाख नेपालीको बसोबास रहेको जापानमा हुन लागेको फिल्मको प्रदर्शनमा अभिनेत्री मिरुना मगरको माग भएपछि नेपाली दर्शकको त्यही मागलाई सम्बोधन गर्दै उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए ।
जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने जानकारी नेपाल मगर संघ जापानले दिएको छ । रुकुम पुर्वको तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छयांकन गरिएको यो फिल्मले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ । अनिल बुढा मगरको निर्देशन र जनक घर्ति मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य रहेको छ । गत असार २८ गतेदेखि नेपालमा प्रदर्शन भैरहेको फिल्म आज शुक्रवारदेखि प्रदर्शनको ५औं हप्तामा प्रवेश गरेको छ । नेपालबाहेक अन्य देशहरुमा पनि यो फिल्म प्रदर्शन भैरहेको छ ।