काठमाडौं– पृथक शैलीका गीत गाएर लाखौं स्रोताका मन जित्दै आएका लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको दुखद निधन भएको छ ।
शनिवार साँझ गायक तिमिल्सिनालाई उनकै निवासमा अचेत अवस्थामा फेला पारिएको थियो । ललितपरको भैँसेपाटीमा बसोबास गर्दै आइरहेका सुनसरीका स्थायी वासिन्दा गायक तिमिल्सिनालाई शनिवार साँझ छ बजेको समयमा घरकै ओछ्यानमा अचेत अवस्थामा फेला पारिएको थियो । गायक तिमिल्सिनाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई तत्काल उपचारका लागि पाटन अस्पताल लगिएको थियो । यद्यपि, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।
प्राकृतिक विपत्तिका कारण बाल्यकालमै आफ्ना परिवारका सबै सदस्यका साथै आफ्नो आँखाको ज्योति गुमाएका गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी हुँदै दर्शक तथा स्रोताको नजरमा परेका थिए । आँखाको ज्योति फिर्ता पाउन संघर्षरत उनी अमेरिका गएर उपचार गराउने कुरा आफ्ना निकटका व्यक्तिहरुलाई बताउँदै आएका थिए । गायक तिमिल्सिनाले गाएका गीतहरु मध्ये खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिन, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म आदि छन् । यसबाहेक उनले धेरै वटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन्, जसलाई दर्शक तथा स्रोताले मन पराएका छन् । गायक तिमिल्सिनाको आज आइतवार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको हो ।
गायक तिमिल्सिनाको निधनमा विभिन्न संगीतकर्मीदेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । संगीतकर्मी टीका भण्डारीले सञ्जालमा एउटा भावुक शैलीको पोस्ट लेख्दै गायक तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्– ‘प्यारो गायक प्रकाश भावपूर्ण श्रद्धाञ्जली, मैले यो कुरामा विश्वास गर्न सकिरहेको छुैन, प्रकाश तिमी गएको हौ र १ यो असत्य होस् । तिम्रो लागि धेरै लेखेको, बोलेको मान्छे म । तिम्रो गायकी र क्षमतालाई चिन्ने मध्येको म पनि एक हुँला । अस्ति भर्खरै सानु गाउँ र लाकुरी भन्ज्याङमा सँगै कार्यक्रम गरेका थियौँ । तिमीले इमाडोलमा पुरस्कार समेत पाएकाथ्यौ ।
औधी खुशी भएको थिएँ, रमाएको थिएँ । कोशीमा बाढी आउँदा २०४५ सालमा तिमी ९ महिनाको थियौ । तिम्रो ९ जनाको परिवार कोशीले बगाएको थियो । तिमी बाँच्यौं। नेपाली सङ्गीतमा धेरै गर्यौ । कोक्रामा ८ घण्टा कोशीले बगाउँदा पनि बाँचेको थियौ तिमी मात्र । नेपाली सङ्गीतमा धेरै असाधारण काम गर्यौ । तिम्रो गायन असाधारण थियो । तिमी रेडियो नेपालको साज र आवाजमा आयौ । गीत गायौ । ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’ गीतबाट नेपाली साङ्गीतिक आकाशमा चर्चित थियौ, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म, माया गरे जस्तै मलाई गर्थी अलि अलि, थुप्रै गीत गायौ, तर आज आफ्नै बाटो समायौ । तिमी चर्चित गायक मध्येको एक । अङ्ग्रेजी भाषाको ज्ञाता । मेरो बिग्रेको आइफोन मोबाइल समेत बनाएका थियौ । दृष्टिबिहीन तिमी । यस्तो क्षमतावान प्रतिभाशाली नेपालमा अर्को कोही हुन सक्दैन । हैन के भयो कसरी यस्तो भयो ? जान्न उत्सुक छु । बुझ्न चाहन्छु । यो सबै गलत होस् । यस्तो प्रतिभाशाली गायक, फेरी यस धर्तीमा जन्मेला नजन्मेला । तिमीलाई लाख लाख भावपूर्ण श्रद्धाञ्जली मेरो प्यारो भाई प्रकाश तिमल्सिना ।’