काठमाडौं– निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ ।
यसै फिल्मबाट महानायक राजेश हमालले आठ वर्षपछि कमब्याक गर्न लागेकाले पनि फिल्म क्षेत्र गर्माएको छ।
फिल्ममा अभिनेत्री नीति शाह पनि अनुवन्धित भएकी छन् । निर्माण पक्षले नीतिको लूकसहितको पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा नीतिलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो।
निर्माण पक्षले बिहीवार फिल्मको घोषणा गरेसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।
सार्वजनिक पोस्टरमा प्रयोग गरिएको रातो (आगो) र नीलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ ।
शान्तिका लागि द्वन्द हुने थीम पोस्टरले संकेत गरेको यसले पनि फिल्म द्वन्दप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौ महिनादेखि छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा बढी हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।