अमेरिकामा रेकर्ड गरियो ‘मृत्युकोष’ को शीर्षक गीत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
अमेरिकामा रेकर्ड गरियो ‘मृत्युकोष’ को शीर्षक गीत

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मृत्युकोष’ को शीर्ष गीत रेकर्ड गरिएको छ ।

‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको यो गीत अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बाल्टिमोरमा रेकर्ड गरिएको हो । फिल्मकी निर्मात्री कमला जोशीका अनुसार गीतकार डा. कृष्णहरि बरालको शब्दको उक्त गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका छन् । गायक रुद्र शेखर शर्माले उक्त गीत गाएका हुन् । विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिँदै आएका गायक रुद्र शेखर शर्माले नेपाली फिल्मका लागि भने पहिलो पटक स्वर दिएका हुन् ।

यो गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँ गरेका हुन् । ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त फिल्ममा माधवराज खरेलको लेखन तथा निर्देशन रहेको छ । यो फिल्ममा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

काठमाडौं, ललितपुर तथा नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाँकन गरिएको यो फिल्मलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । यो फिल्ममा विक्रम गौतमको मेकअप रहेको छ । फिल्मको दोश्रो चरणको छायाँकन भदौ महिनाको दोस्रो साताबाट प्रारम्भ गरिने निर्माण पक्षले जनाएको छ । एक जना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेका समस्यालाई फिल्ममा उठान खोजिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा वृद्ध वृद्धाहरु पर्ने गरेका छन् । यसै विषयवस्तुभित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो फिल्मको निर्माण भएको निर्देशक खरेलले बताए । निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेको चलचित्र चिट्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।