काठमाडौं– करिव तीन सातादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि छ जना फिल्मकर्मीहरुले आवेदन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
दुई साताअघि अर्थात गत साउन १६ गते मन्त्रायलयले एउटा सूचना प्रकाशित गर्दै हिजो बुधवारसम्म आवेदन गर्ने समयावधि तोएिको थियो । जसअनुसार बुधवार साँझसम्ममा कुल छ जनाले उक्त पदका लागि आवेदन दिएका हुन्। मन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्षका लागि सञ्चारकर्मी, उद्घोषक तथा अभिनेतासमेत रहेका निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेश कुमार थापा, निर्माता तथा विकास बोर्डका सदस्य अर्जुन कुमार डंगोल, निर्देशक दीपा बस्नेत तथा विकास बोर्डका सदस्य प्रकाश भट्टराईले आवेदन दिएका छन् ।
मन्त्रालयका अनुसार बुधवारदेखि आवेदन दिने समयावधि समाप्त भएकाले अब बोर्डले यी छ जनामध्ये एक जनालाई अध्यक्षको रुपमा पाउने छ । मन्त्रालय स्रोतले जनाए अनुसार आवेदन दिने समयावधि समाप्त भएकाले मन्त्रालयले अब कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि तालिका सार्वजनिक गर्नेछ । यी दुई चरण पूरा भएपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्नेछ । यसअघि फिल्मकर्मी भुवन केसी आफ्नो दुई वर्षे कार्यकाल पूरा गरि गत साउन ९ गते विकास बोर्डको अध्यक्षबाट हटेका थिए ।