काठमाडौं– साउन ३२ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ ले सुखद सुरुवात गरेको छ । शुक्रवार तथा शनिवार प्राप्त शोहरूमा फिल्मलाई दर्शकले साथ दिएका छन् ।
शनिवार राजधानी र मोफसलका अधिकांश शोहरू हाउसफूल रहेको स्क्रिनशटसहितको अपडेट निर्माता तथा कलाकार विराज विष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । शनिवार दिनभर फिल्मले ७० प्रतिशतमाथिको अकुपेन्सी कायम राख्न सफल भएको वितरक करण श्रेष्ठले बताए । पश्चिम नेपालको कर्णाली तथा सुदूरपश्चिम भेगको स्थानीय कथा उठान गरेको फिल्मलाई पश्चिमेली दर्शकले राम्रो साथ दिएका छन् । शनिवार पश्चिम नेपालको नेपालगञ्ज, दाङ, बुटवल, पोखरामा फिल्मले हाउसफूल व्यापार गर्न सफल रह्यो । यसअघि राजधानीमा आयोजित विशेष प्रदर्शनीमा पूर्व उपप्रधानमन्त्री भिम रावल, चर्चित गायक प्रकाश सपूत, गायिका मञ्जु पौडेल, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल, अभिनेता पुष्प खड्का लगायतले फिल्म हेरिसकेपछि उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
पूर्व उपप्रधानमन्त्री रावलले पश्चिमेली समाजको यथार्थता फिल्मले पस्केको भन्दै फिल्मले बोकेको पश्चिमेली भाषामै दर्शकलाई सम्बोधन गर्दै नेपाली कला संस्कृति बुझ्न यो फिल्म हेर्न आग्रह गरे । गायक सपूतले बुलाकी नेपाली समाजको एक दस्तावेज भन्दै छुटाउन नहुने फिल्मको सुचीमा राख्नु पर्ने र सबैले हेर्नुपर्ने फिल्म बोले । यसअघि नेपाल सरकारबाट विशेष फिल्मको पुरस्कार प्राप्त गरिसकेको फिल्मले विभिन्न अवार्ड समारोहहरूमा उत्कृष्ट बन्दै अब्बलता देखाइसकेको छ । निर्माता बिष्टले दर्शकबाट प्राप्त वर्ड अफ माउथले फिल्मलाई लामो रेसको घोडाको रूपमा अघि लैजाने विश्वास पोखे । अघिल्लो वर्ष २ दिन रिलिज भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुनस् प्रदर्शनमा ल्याएको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, सुशील पोखरेल, रमेश बुढाथोकी, लक्ष्मी गिरी लगायत प्रमुख अभिनयमा छन् ।