काठमाडौं । ‘हैट’ थेगोका कारण चर्चित अभिनेता बुद्धि तामाङ पिता बन्दैछन् । उनकी पत्नी अनु थिङले असोजमा सन्तानलाई जन्म दिन लागेकी हुन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत तामाङ दम्पतीले ‘प्रेगनेन्सी’को घोषणा गरेका छन् । ‘लभ हार्ट इमोजी’ सहित बुद्धिले आफ्नो फेसबुक पेजमा पत्नी अनुसँगको रोमान्टिक तस्वीर सेयर गरेका छन् ।फोटोमा उनीहरुले बच्चाको लुगा र प्यासिफायरको प्रतीकात्मक तस्वीर पनि देखाएका छन् । ‘बेबी प्लान’का लागि भनेरै अनु केही समयअघि अस्ट्रेलियाबाट नेपाल आएकी हुन् । उनी अस्ट्रेलियामा अध्ययन गर्दै आएकी थिइन् ।
बुद्धि र अनु २०७९ असोज ७ गते विवाह बन्धनमा बाँधिएका थिए । पत्नी गर्भवती भएपछि उनको हेरचाहका लागि बुद्धिले एक महिना फिल्मबाट विश्राम लिने भएका छन् । ‘काठमाडौंमा सुटिङ हुन्छ भने भ्याउँछु होला अन्तको सक्दिनँ । केही समय फिल्म खेल्दिनँ,’ उनले भने ।अभिनेता तामाङ कबड्डी, छक्कापञ्जा जस्ता फिल्मबाट एकाएक चर्चामा आए । उनी अहिले दुःखी आत्मा, झड्केलो, मायाका रंगहरु र गाउँ रमाइलो फिल्मको तयारीमा छन् । उनी निर्देशित नाटक ‘मासिन्या’ हालै मण्डला नाटक घरमा मञ्चन भएको थियो । बुद्धि मण्डलाका कार्यवाहक अध्यक्ष पनि हुन् ।