काठमाडौं- आज शुक्रबार अर्थात् भदौ ७ गतेबाट चलचित्र 'सतीदेवी' र 'नमेटिने घाउ' एक साथ प्रदर्शनमा आएका छन् ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् ।
प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै वटा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले छाेरी मात्र जन्मिएपछिकाे सामाजिक मानाेभाव र बा-आमा र छोरीबीचको स्नेही सम्बन्धको कथा बोलेको छ ।
चलचित्र ‘नमेटिने घाउ’ मा समाजको विसंगतिको रुपमा रहेको एसिड आक्रमणमा परेका सर्भाइभरहरूको वास्तविक जीवनीलाई चित्रण गरिएको बताइएको छ ।
चलचित्र ‘सतीदेवी’ लामो समयदेखि दर्शकमाझ प्रतिक्षित फिल्म हो । यसले समाजमा अझै पनि छोरीहरुलाई कसरी तिरस्कार गरिन्छ, सामाजिक मर्यादाका लागि छोरा नै पाउनु पर्छ भन्ने विकृत मानसिकतालाई व्यंग्य गर्दै छोरीहरुले थालेको आन्दोलनलाई चित्रित गरेको छ ।
यसअघि चलचित्र ‘सतीदेवी’ले काठमाडौंमा आयोजना गरेको प्रीमियर शोमा कथावस्तु र कलाकारको अभिनयको प्रशंसा पाएको थियो ।
चलचित्रमा अभिनेत्री मलिका महतसंगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको यो फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन् ।
एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित ‘नमेटिने घाउ’ मा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको बताइएको छ ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीप बाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखकका साथमा सुरवीर पण्डित, सुनिल कटुवाल आदि कलाकारले अभिनय गरेका छन् । ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् ।
फिल्ममा शिवम अधिकारीको लेखन छ ।
यो पनि हेर्नुहोस्