काठमाडौं । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘देवी’ को शिर्षक गीत सार्वजनिक भएको छ ।
शुक्रवार सार्वजनिक गरिएको यो गीतमा अभिनेत्री शिल्पा मास्केमात्रै फिचर्ड छिन् । रोहित शाक्य संगीत निर्माता तथा शब्द रचनाकार रहेको यो गीतमा कम्पोज र स्वर गायक स्वप्नील शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा वशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको यो फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा यो फिल्म ‘देवी’ बनेका हो । यो फिल्म निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने यो फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको एक्सन रहेको यो फिल्म रेमन गुरुङ र सञ्जोग राईले निर्माण गरेका हुन् ।
फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।