काठमाडौं -अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बमबहादुर’ कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माताले सार्वजनिक गरेको पोस्टरमा मल्ललाई लडाकु चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टरले कुनै गाउँ र त्यहाँको युद्धको पृष्ठभूमिको छनक दिन्छ । केही सर्वसाधारणलाई पनि देखाइएको छ । निर्देशक जोन राईले रहस्य, कौतुहलता, प्रेम र सामाजिक तत्वलाई कथामा मिश्रण गरिएको बताए । बमबहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाले उसको वर्तमानलाई कसरी प्रभावित गरेको छ भन्ने कथावस्तु यसमा समेटिएको जनाइएको छ ।
‘कथाले दर्शकलाई बमबहादुरको बाल्यकालमा पुर्याउँछ, जहाँ उनका सुन्दर पल एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्’ निर्देशक राईले भने, ‘वर्तमान र विगतको कथा जोड्दै फिल्म नाटकीय उत्कर्षमा टुंगिन्छ जसले सस्पेन्स, रोमान्स र सोसल ड्रामाका सबै धागालाई बुन्छ ।’विष्ट ब्रदर्स फिल्म्सको ब्यानरमा बनेको फिल्ममा मल्लसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बागदास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, वाशित कार्की र सुरेश पाँचकोटीको अभिनय छ । निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको पटकथा रहेको फिल्ममा छायांकन सुजोय घोषको छ भने संगीत दीपकंरसिंह मुखियाले दिएका छन् ।