काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’ को केही दिनअघि सार्वजनिक गीत ‘रुकुम मैकोट’ दर्शक तथा स्रोताले मन पराएका छन् ।
असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो फिल्मको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत ९औँ स्थानमा पुगेको छ । यो गीतलाई अहिलेसम्म तीन लाख ७१ हजार भ्युज, २० हजार लाइक र १ हजार २ सय बढी प्रतिक्रिया प्राप्त भएको छ । सार्वजनिक गीतलाई अधिकांशले उत्कृष्ट भनेका छन् । फिल्मको गीत हेर्ने धेरै दर्शकले धिरज र उपासनाको केमेष्ट्री गज्जब देखिएको बताएका छन् । फिल्मको गीतमा प्रतिक्रिया जनाउँदै प्रवीन सरुले लेखेका छन् – ‘यस्तो सुनिरहुँ, नाँचु–नाँचु लाग्ने गीत आउँदा त्यसैमाथि अझै मनपर्ने हिरो–हिरोइन यो भिडियोमा देख्दा खुसी मनमा उमङ्ग हर्ष बढेर आउने क्या ‘रुकुम मैकोट’ गीत साथै सिनेमालाई अघोर सफलताको शुभकामना ।’
भलजिएमसीले लेखेका छन्– ‘यो हो नि मौलिक भाका, पहिरन र उत्कृष्ट नाचले सुसज्जित ठेट गीत संगीत । गीतमा निकै मिठास छ ठ्याक्कै जिब्रोमा झुन्डिने। धिरज र उपासना तारा झैँ चम्किला छन् । बाँकी साईडका सोल्टी सोल्टीनीहरु पनि कति राम्रा–राम्रा हुन । कुमार मगरले लेखेका छन्– ‘जति हेरे पनि हेरिरहुँ जस्तो लाग्ने गीत अर्गानिक आफ्नै मौलिक भेषभुषा, आफ्नै संस्कृतको धनी देश नेपाल सारै राम्रो लाग्यो ।’
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्मले खन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन् भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्मका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।