‘सानो संसार’ हेर्ने दर्शकले कथा र पात्रमा आफैलाई महसुस गर्छन्-सतीदेवी तिमल्सिना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१९ दिन अगाडि
‘सानो संसार’ हेर्ने दर्शकले कथा र पात्रमा आफैलाई महसुस गर्छन्-सतीदेवी  तिमल्सिना

काठमाडौँ - चलचित्र ‘सानो संसार’मा दर्शकले आफ्नै कथा पाउने कलाकार सीतादेवी तिमल्सिना बताउँछिन् ।

मध्यमवर्गीय परिवारको कथामा फिल्म बनेको र नेपालमा यो वर्ग ठुलो संख्यामा रहेकोले चलचित्रकाे कथा सबैले आफ्नै महसुस गर्ने उनको दाबी रहेको छ । ‘कतिपय अवस्थामा बुबाआमा र बच्चाले के चाँहेको बुझेको हुँदैन । बच्चाले पनि बुबाआमाको चाहना बुझेको हुँदैन । त्यो विषय चलचित्रमा  छ’, सीतादेवीले भनिन्, ‘ चलचित्रले परिवार आमाबुबा र बच्चालाई झन् नजिक बनाउँछ ।’ सीतादेवी तिमल्सिना ‘सानो संसार’मार्फत चलचित्रमा मुख्य भूमिकामा देखिन लागेकी हुन् । सानोपर्दाको सिरियलमा देखिँदै आएकी उनी हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’को श्रीमती हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र सीतादेवीकी छोरीको भूमिकामा अभिनय गरेकी नव–अभिनेत्री अञ्जसा रिजाल ‘सानो संसार’मा हरेक घरमा मिल्ने कथा रहेको बताइन् । ‘मेरो चरित्रले धेरै उद्देश्य बोकेको छ । उसको विदेश जाने सपना छ । अहिलेको समयमा बाहिर जाने थुप्रै युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व फिल्ममा मेरो पात्रले गरेको छ’, उनले आफ्नो चरित्र खोलिन् । फिल्मकी अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा युवापुस्ताले ‘रिलेट’ गर्ने विश्वास छ । ‘फिल्ममा म परिवारकी जेठी छोरी हुँ । यसमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो ‘क्यारेक्टर’ले परिवारको जिम्मेवारी उठाएपछि बुबा–आमा र सन्तानबिच भिन्नता आउँछ,’ उनले भनिन् । 

चलचित्रमा बुबाको भूमिका निर्वाह गरेका राज पंगेनी शर्मा पनि ‘सानो संसार’ फ्यामिली चलचित्र भएको बताए । उनले चलचित्र हेरेपछि बुबाआमादेखि छोराछोरीको समेत भूमिका फेरिने बताए । ‘हरेक बुबाको कथा मैले बोकेको छु’, शर्माले थपे । ‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले ‘सानो संसार’ निर्माण गरेका हुन् । ‘सानो संसार’ पहिला सिरिज थियो । ४ भाग प्रसारण समेत भइसकेको सिरिज हेरेपछि यसमा फिल्म बनाउनुपर्छ भनेर अर्जुनले बाँकी एपिसोड रोकेर चलभित्र बनाएका हुन् । उनी यसलाई आफूले यसअघि बनाएका चलचित्र मध्येकै उत्कृष्ट बताउँछन् ।

‘मैले यसअघि जति पनि चलचित्र बनाएँ, त्यसमध्ये उत्कृष्टमा ‘सानो संसार’हो भन्छु’, अर्जुनले भने । यसअघि आफ्ना कुनै फिल्म प्रिमियर नगरेका अर्जुनकुमारले यसको प्रिमिएर समेत राखेका छन् । ‘चलचित्र राम्रो भएपछि प्रिमियरको आँट आएको हो’, अर्जुन कुमारले थपे । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको पनि अभिनय छ ।  फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको फिल्ममा प्रवीन खड्काको छायांकन एवं रोमी तन्डुकारको सम्पादन छ ।