'पूर्ण बहादुरको सारङ्गी'को उत्कृष्ट व्यापारले चलचित्र 'मिसिङ: केटी हराएको सूचना’को प्रदर्शन स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
'पूर्ण बहादुरको सारङ्गी'को उत्कृष्ट व्यापारले चलचित्र 'मिसिङ: केटी हराएको सूचना’को प्रदर्शन स्थगित

काठमाडौं-  कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र 'मिसिङ: केटी हराएको सूचना’को प्रदर्शन स्थगित भएको छ । गीत ट्रेलर लगायतका सम्पूर्ण प्रचार सामग्री बजारमा पुर्याइसकेकाे चलचित्रले अकस्मात प्रदर्शन स्थगन गरेको हो । 

 निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले राम्रो व्यापार गरिरहेकाले ‘केटी हराएको सूचना’को प्रदर्शन स्थगन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’


नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता  रहेकाे चलिचत्रमा दीपेन्द्र गौचनको लेखन, निर्माण तथा निर्देशन रहेको छ ।

‘केटी हराएको सूचना’मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिका छन् ।