काठमाडौं - कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् ।
दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेका अनुसार उनलाई धामीको चरित्र निभाउन सजिलो थिएन । ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ’, माओत्से भन्छन् ।
आफूले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुनाले पनि ‘धामी’ चरित्र निभाउन अनुसन्धान नगरेको खुलाए ।उनले भने,‘ ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’ ट्रेलरमा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् । उनी आफू कथाको पात्र मात्र भएर यो काममा उपस्थित भएको बताउँछन् । माओत्सेकै भनाईमा यो काममा उनलाई खासै समस्या भएको रहेनछ ।