‘अग्नि दहन’ सामाजिक फिल्म भएकाले अभिनयका लागि तयार भएको थिएँ : प्रकाश घिमिरे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६२ दिन अगाडि
‘अग्नि दहन’  सामाजिक फिल्म भएकाले अभिनयका लागि तयार भएको थिएँ :  प्रकाश घिमिरे

काठमाडौँ - कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चर्चित नाम हो । दर्जनौँ फिल्ममा अभिनय गरिसकेका प्रकाश शुक्रवारबाट रिलिज हुने फिल्म ‘अग्नि दहन’मार्फत दर्शकमाझ आउँदै छन् । अभिनय कलाले दर्शकको मन जित्न सफल उनै घिमिरसँगै  ‘अग्नि दहन’ विशेष रहेर गरिएको कुराकानी :

अग्नि दहनमा कसरी जोडिनुभयो ?

म ‘घामपानी’को सुटिङ गरेर फर्कँदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउदैछौ, काम गर्नुपर्‍यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौँला भनेँ । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दै छ भनेपछि म काम गर्न सहमत भएँ । म आफैँ पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।

ट्रेलर हेर्दा तपाईँ ‘बोक्सी हुँदैन’ भन्ने मान्यता राख्नुहुन्छ । वास्तविकतामा तपाईँको मान्यता त्यही हो ? किन ?

म ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छु । मानिसमा मानसिक रोग हुन्छ । त्यो रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरू नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामी झाँक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले ।

तपाईँको बुझाइमा समाजमा साँच्चै बोक्सी छन् त ?

हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन् । पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामी झाँक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए । अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे । खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरूमा मानसिक रोग देखिएको हो । धामी झाँक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।

महिलालाई बोक्सीको आरोप किन लगाइँदो रहेछ ?

बोक्सी भन्ने कुरा मान्छेले आफैँले खडा गरेको चिज हो । मान्छे भित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन । को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ । मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरूलाई अनेक यातना दिइने गरिन्छ । त्यो गलत हो । रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो ।