काठमाडौं । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ गते रिलिज हुने भएको छ ।
सोमबार निर्माताले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।यसअघि नै सार्वजनिक फर्स्टलुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ‘ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।
आर्टमाण्डु प्रालिले निर्माण गरेको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहान हुन् । आर्टमाण्डुले यसअघि निर्माण गरेका थुप्रै म्युजिक फिल्म लोकप्रिय छन् । फिल्ममा विपिन र मिरुनाका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर लगायत कलाकारको समेत अभिनय छ ।