काठमाडौं- ‘पूर्ण बहादुरको सारङ्गी’ फेम कलाकार विजय बरालले ‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलको छायांकन थालेका छन् ।
मंगलवारदेखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ थालेका हुन् । दशैंअघि डोल्पामा सुटिङ सकेको यो फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिदेखि थालेको हो । हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अघि नै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो । विजयको यो ‘पूर्ण बहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो फिल्म हुनेछ ।
यो फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह(निर्माताको रुपमा रहेका छन् ।