मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि, २३ देशका ५३ चलचित्र देखाइने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४२ दिन अगाडि
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि, २३ देशका ५३ चलचित्र देखाइने

काठमाडाै‌-‘बाह्रौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् ।

‘सामाजिक न्याय’सहित आज सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तर्क्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । ‘यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ,’ निर्देशक खत्रीले भने ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरू ‘अल वि इमाजिन एज लाइट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’लगायतको सहभागिताले महोत्सवको रौनकता बढाउने महोत्सव निर्देशक खत्रीले बताए । नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौंको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले यस महोत्सवको आयोजना गर्दै आएको छ ।