काठमाडाैं - नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र 'बम बहादुर'को भारतको दार्जिलिङमा प्रिमियम समारोह सम्पन्न भएको छ ।
सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको चलचित्रले दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल भएको हो । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रङ्गमञ्च भवनमा यस चलचित्रको प्रिमियर सो आयोजना गरेको थियो । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको उपस्थितिमा प्रिमियर सम्पन्न गरिएको थियो । प्रिमियरमा अभिनेता सौगात मल्ल भने उपस्थित थिएनन् । ‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ ।
चलचित्रले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खा ल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको बताइएको छ । चलचित्रका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले चलचित्रलाई प्रभावकारी बनाएको प्रिमियरमा चलचित्र हेरेका दर्शकले बताए । यसको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिएका छन् । कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै चलचित्रको प्राविधिक पक्ष पनि विशेष प्रशंसा पाएको छ । दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले चलचित्रलाई थप सुन्दर बनाएको दर्शक प्रतिक्रिया रहेको छ ।