काठमाडौं- तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङले नयाँ नेपाली फिल्म ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन् ।
अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । पोस्टरमा लाइट ग्रीन र लाइट पिङ्कको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उनी जेन्टल छन्, केयरिङ छन्, रोमान्टिक छन् र सफ्ट छन् । त्यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ ।
अनुषा सिनेमावुड पिक्चर्सको ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । उनले भने– ‘उनीहरु एक–अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहने छ ।’ कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने – ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’ उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘ कुस्ती’ रहेको बताए । काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौ महिनामा प्रदर्शन हुनेछ । पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।