काठमाडौं- चर्चित हास्य सिरियल 'सक्किगोनि' समूहद्वारा निर्माण गरिएको फिचर फिल्म 'लाज शरणम्' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले बुधबार फिल्मका तीनवटा पोस्टर सार्वजनिक गर्यो
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकारहरूलाई देखाइएको छ। पहिलाे पोस्टर जहाँ विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र हरिष निरौला फिचर्ड छन्। उनीहरू कफिनको फ्रेमभित्र छन् । यो पोस्टरमा अर्जुन घिमिरे सिरियलको पात्र पाँडेकै गेटअपमा छन् । दोस्रो पोस्टर जहाँ हरिश निरौला र विजय बराल फिचर्ड छन्।
यसमा विजय हरिषको ढाडमा बसेर शंख फुकिरहेको देखिन्छन्।
तेस्रो पोस्टरमा हातमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उनको अगाडि हिमाल र त्यसको काखमा बस्ती देखिन्छ। तीन वटा पोष्टरलाई नियाल्दा ‘लाज शरणम्’ मा गम्भीर विषयलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ कि भन्ने संकेत गरेको छ ।
कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको यो फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ। फिल्मका छायांकार सुदीप बराल हुन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन्। राम नरेश शाह र श्रीजना खड्का यसको सह–निर्माताको रूपमा छन्। फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले किनेको छ भन नेपालमा फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।