काठमाडौं– अभिनेत्री दिया मास्के अहिले लगातर फिल्महरुमा देखिँदै आएकी छिन् ।
त्यसो त उनी थिएटरमा बढी रमाउने अभिनेत्री हुन्, तर अहिले उनी फिल्ममा पनि काम गरिरहेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘कर्साङ्’ अहिले पनि प्रदर्शन भइरहेको छ । यो फिल्ममा दियाले बोलेका सम्बाद चर्चामा छन् । यसैबीच, यही माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ममी’ मा अभिनेत्री प्रियंका कार्कीसंगको नृत्यले पनि दिया अहिले चर्चाको विषय बनेकी छिन् । यी दुवै अभिनेत्रीले ‘म त यसै नक्कली’ बोलको गीतमा गरेको नृत्य वास्तवमै प्रशंसनीय छ । दुवैले गरेको नृत्य हेर्दा कोहि एकको मात्र प्रशंसा गर्न गाह्रो देखिएको छ ।
प्रियकासंगको नृत्य अनुभव शेयर गर्दै दियाले कलाकर्मीसंग भनेकी छिन् – ‘प्रियकासंग काम गर्दा रमाइलो भयो । प्रियंका राम्रो नाच्ने एक कुशल नृत्यांगना पनि हुन् । उनी राम्रो साथी भएका कारणले गर्दा एकदम सहज र रमाइलो भयो ।’ यसअघि यसरी नाचेको देखिएको थिएन नि ? कतिको गाह्रो भयो ? भन्ने हाम्रो प्रश्नमा दिया भन्छिन् – ‘वास्तवमा मेरो करियर नृत्यबाटै प्रारम्भ भएको हो । म एउटा नृत्यांगना नै हुँ, तर अहिले लामो समय ननाचेको भएर होला धेरैले मलाई नाच्न कतिको सहज भयो ? भनेर प्रश्न गर्नु हुन्छ, जुन कुरा मलाई नरमाइलो लाग्छ । मैले कत्थकमा मास्टर्स नै गरेकी छु । यसबाहेक मैले लामो समय नृत्य सिकाएको पनि थिएँ ।
नृत्य मेरो लागि पहिलो प्रेम नै हो ।’ नृत्यकी गुरु जस्तो मान्छे, तर यहाँले नाचेको दर्शकले खासै देख्न पाएका थिएनन् नि ? भन्ने हाम्रो जिज्ञासामा अभिनेत्री मास्के भन्छिन् – ‘म कत्थककी गुरु भएता पनि मैले कमर्सियल हिसाबले भने पहिलो पटक ‘ममी’ फिल्ममा नै नृत्य गरेकी हुँ ।’ ‘ममी’ फिल्ममा नृत्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउँछिन् दिया । उनी अहिले फिल्ममा आफूले गरेको नृत्यमा दर्शकले दिएको प्रतिक्रियामा पनि खुब दंग छिन् । दिया भन्छिन्– ‘दर्शकको प्रतिक्रियाले ममा एउटा उर्जा थपिएको छ । अहिले जीवनमा एक किसिमको उर्जा थपिएको छ । यसलाई निरन्तरता दिन्छु भन्ने एक किसिमको उर्जा उत्पन्न भएको छ ।’