काठमाडौँ- गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।
चलचित्रको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले दर्शकमाझ राम्रो हाइप बनाएको छ । त्यसैले सिनेमाको आज सार्वजनिक टिजर मिलनको कविताले पनि सिनेमाप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमलाई छ । यो सिनेमा आगामी चैत्र २२ गते चैते दसैँको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदै छ ।
चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र सङ्गीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन् ।
भिडियो