पूर्वराजा शाहलाई स्वागत गर्दाको भिड 'माग्ने राजा' फिल्ममा देखाइने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५२ दिन अगाडि
पूर्वराजा शाहलाई स्वागत गर्दाको भिड 'माग्ने राजा' फिल्ममा देखाइने

काठमाडौँ -पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौंमा स्वागत गरेको भिडको दृश्य फिल्ममा समेत देखाइने भएको छ।

केदार घिमिरे (माग्ने बुढा) को शीर्ष अभिनय रहेको फिल्म 'माग्ने राजा' का लागि उक्त भिडको दृश्य खिचिएको हो। पूर्वराजाको स्वागतमा देखिएको भिडलाई ड्रोनसहित ३/४ वटा क्यामेराबाट खिचिएको फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाले बताए। उनका अनुसार फिल्ममा दर्शकको भिड देखाउनुपर्ने भएकाले उक्त दृश्य उपयुक्त लागेपछि खिचिएको हो।

'हाम्रो फिल्ममा क्राउडको सिक्वेन्स छ । त्यसका लागि कुनै पार्टीको नभई राष्ट्रिय झन्डा बोकेको भिडको दृश्य चाहिन्थ्यो । पूर्वराजाको स्वागतमा राष्ट्रिय झन्डा प्रयोग हुने भन्ने थाहा पाएपछि यही माहोलमा खिच्यौं,' उनले भने । उनले फिल्मका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको दृश्य भने कैद नगरिएको बताए । ‘फिल्मसँग पूर्वराजाको केही सम्बन्धचाहिँ छैन,’ उनले भने । ऋषि लामिछानेको निर्देशन रहेको 'माग्ने राजा' यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्ममा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल लगायतको अभिनय छ । आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्मका निर्माता मुनाल घिमिरे हुन् । छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति आगामी तीजका लागि तय भइसकेको छ ।