काठमाडौँ - आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा 'वसन्त'को अफिसियल ट्रेलर पर्सी शनिवार सार्वजनिक तयारी भइरहेको छ । काठमाडौँको बसुन्धारास्थित सिटी स्क्वायर मलमा 'वसन्त-साँझ'को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ ।
चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिनेछन् । सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।
गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र सङ्गीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन् ।