काठमाडौं - अभिनेता अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘जेरी अन टप’ को छायाङ्कनका लागि हालै मुस्ताङ पुगेका छन् ।
यस क्रममा उनले अभिनेत्री आँचल शर्मासँग मिलेर आफ्नो लागि विशेष महत्त्व राख्ने ‘जेरी गल्ली’ को भ्रमण गरेका छन् ।मुस्ताङको मार्फामा रहेको उक्त गल्ली अनमोलका लागि विशेष छ, किनभने करिब १० वर्ष अघि रिलिज भएको उनको हिट चलचित्र ‘जेरी’ सोही स्थानमा छायाङ्कन गरिएको थियो । सोही कारण उक्त गल्लीलाई ‘जेरी गल्ली’ नामकरण गरिएको थियो ।
अनमोलले आफ्नो सामाजिक सञ्जालमा पुराना दिनहरूको स्मरण गर्दै लेखेका छन्, “१० वर्षभन्दा बढी भइसक्यो, तर अझै ‘जेरी’ प्रति देखाइएको माया र सम्मान हिजो जस्तै लाग्छ । सम्पूर्ण मुस्ताङ उपत्यकालाई धन्यवाद दिन चाहन्छु । यो क्षण एकदमै अभूतपूर्व छ ।”उनले मुस्ताङमा स्थानीयवासीको भव्य स्वागत पाएका छन् । सार्वजनिक भिडियोहरूमा उनलाई र अभिनेत्री आँचल शर्मालाई बाजागाजासहित सम्मान गरिएको देख्न सकिन्छ ।