दर्शक भेट्न नेपाल आइन एन्जिला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३५ दिन अगाडि
दर्शक भेट्न नेपाल आइन एन्जिला

काठमाडौँ - प्रदर्शनरत फिल्म ‘अञ्जिला’ की कलकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार  बिहान काठमाडौँ फर्किएकी छन् ।

आफ्नै जीवनमा आधारित फिल्मको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । ४ दिनको नेपाल बसाइको लागि ग्रिसबाट नेपाल आएकी एन्जिला काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा दर्शक भेट्न पुग्ने निर्देशक मिलन चाम्सले बताए । शनिवार पनि काठमाडौँ रहने एन्जिला आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए ।

हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।